काठमाडौं — बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार कार्यक्रम सोमबार मध्यरात १२ बजेदेखि समाप्त भएसँगै ४८ घण्टे मौन अवधि लागू भएको हो।
निर्वाचन आयोगले फागुन ४ गतेदेखि प्रचारप्रसारको समय दिएको थियो।
मतदान हुनु ४८ घण्टाअघि सुरु हुने मौन अवधिमा मतदान सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार, सभा–भेला, भाषण, छलफल वा निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गर्न पाइँदैन।
सामाजिक सञ्जाल, एसएमएस, फेसबुक, भाइबरलगायत विद्युतीय माध्यमबाट मत माग्नसमेत रोक लगाइएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले आर्थिक कारोबार गरेको पाइए उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउनेसम्मको कारबाही हुन सक्छ।
आयोगले प्रभाव पार्ने गतिविधिप्रति ‘शून्य सहनशीलता’ अपनाइने स्पष्ट पारेको छ।
मौन अवधिलाई स्वच्छ र स्वतन्त्र वातावरणमा मतदाताले विवेकपूर्ण निर्णय गर्न पाउने अवसरका रूपमा लिइन्छ।
यस अवधिमा मतदान केन्द्र व्यवस्थापन, सुरक्षाको मूल्यांकन तथा आवश्यक बन्दोबस्त मिलाउने काम गरिन्छ।
मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री मौन अवधि सुरु हुनुअघि नै हटाइसक्नुपर्ने व्यवस्था छ।
विश्वका विभिन्न मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्ने प्रचलन छ।
आयोगका अनुसार मतदाताले शान्त र भयरहित वातावरणमा आफूले रोजेको उम्मेदवार चयन गर्न पाउने सुनिश्चितताका लागि मौन अवधि महत्त्वपूर्ण मानिन्छ।







