काठमाडौँ । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन प्रमुख चित्तरञ्जन दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतले सिसिटिभी क्यामेरा बन्द गरेर डिपोबाट तोकिएभन्दा बढी डिजेल अवैधानिक रूपमा ढुवानी गरिएको प्रकरणमा बिहीबार फैसला सुनाउँदै उनलाई कैद र जरिवानाको सजाय तोकेको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइरालाको संयुक्त इजलासले दासलाई पाँच महिना कैद र ५६ हजार ६५ रुपैयाँ जरिवाना सुनाएको छ ।
उक्त प्रकरणमा संलग्न इन्धन ट्याङ्कर चालक निर्मल तथा पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमकट्टेललाई पनि सोही अवधिको कैद र बराबर जरिवाना तोकिएको छ । अदालतले तीनै जना र सम्बन्धित कम्पनीलाई दोषी ठहर गर्दै दामासाहीका आधारमा बिगो असुल गर्ने आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बढी ढुवानी गरिएको डिजेलको मूल्य बराबर चार लाख ४८ हजार रुपैयाँ बिगो कायम गरी गत २५ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानबाट मिलेमतोमा तोकिएभन्दा बढी इन्धन लोड गरी अनियमितता गरिएको पुष्टि भएको थियो ।
यो घटना करिब साढे दुई वर्षअघिको हो । २५ साउन ०८० मा जारी इन्भोइस नम्बरअनुसार पश्चिमाञ्चल ट्रेडर्सको ‘ग.२ ख ८३६’ नम्बरको ट्याङ्करमा १२ हजार लिटर डिजेल लोड गर्नुपर्ने थियो । तर मिलेमतोमा १५ हजार ३८ लिटर डिजेल लोड गरिएको भेटिएको थियो ।
सिसिटिभी क्यामेरा बन्द गरेर अतिरिक्त ३ हजार ३८ लिटर डिजेल ढुवानी गरिएको आरोप अख्तियारले लगाएको थियो ।
डिप र सिल गर्ने जिम्मेवारीमा रहेका गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटलाई समेत प्रतिवादी बनाइएको थियो । तर पर्याप्त प्रमाण नपुग्दा उनीहरूले अदालतबाट सफाइ पाएका छन् ।
विशेष अदालतको यस फैसलालाई सार्वजनिक निकायमा हुने इन्धन अनियमितताविरुद्धको सन्देशका रूपमा हेरिएको छ । सरकारी स्वामित्वको संस्थामा भएको मिलेमतो र गैरकानुनी ढुवानी प्रकरणमा अदालतको निर्णयले आगामी दिनमा यस्ता गतिविधि नियन्त्रणमा कडाइ हुने अपेक्षा गरिएको छ ।






