काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा उच्च वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १०६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १९२ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १२२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा भ्रमण आय ०.८ प्रतिशतले वृद्धि भई ४२ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४१ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।
विशेषगरी चालु खाता र शोधनान्तर स्थिति बचतमा राख्न विप्रेषणको भूमिका उल्लेख्य रहेको तथ्याङ्कले देखाएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप परिचालनमा पनि विप्रेषणको प्रभाव परेको छ ।







