विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यून प्रगतिलाई बढाउनेगरी काम गर्न साेमबार निर्देशन दिएका छन् ।
मुख्यमन्त्री कार्कीले दुई तीन वर्षदेखि निरन्तर बजेट राखिने तर त्यो कार्यान्वयन नहुने अवस्था भएमा तत्कालै हटाउन पनि निर्देशन दिए ।
उनले भने, “एउटै काम पनि घनचक्करजस्तो घुमिरहने तर प्रगति नहुने अवस्थाको अब अन्त्य हुनुपर्छ ।”
उनले मन्त्रालयभित्रकै कमीकमजोरीहरूलाई चाँडोभन्दा चाँडो हटाएर कामलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह गरे ।
कर्मचारी, राजनीतिज्ञ र स्थानीय तहले समस्यालाई ठीक ढङ्गले बुझ्न नसक्दा पनि समस्या भएको उनको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले यी सबै क्षेत्रले आफ्नो अधिकार र कामलाई बुझेर अगाडि बढ्न सके प्रगति हुने दाबी गर्दै प्रदेशलाई केन्द्रले पनि सहयोग नगरिरहेको बताए ।
यातायातको अधिकार प्रदेशमा भएको तर यहाँको यातायातबाट उठेको जरिवाना केन्द्र सरकारले लैजाने गरेको उनले बताए ।
बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले ऐन कानुन संशोधन र पुनर्निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताए।







