काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार मंसिरदेखि बढ्न थालेको मुद्रास्फीति पुस मसान्तसम्म आइपुग्दा १.६६ प्रतिशतबाट थप बढेको हो ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहँदा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ४.१९ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.९७ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उपसमूहको मूल्य ५.२० प्रतिशत, घ्यू तथा तेलको ४.९६ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ३.०४ प्रतिशतले बढेको छ ।
तर, दाल तथा गेडागुडी उपसमूहको मूल्य ५.५२ प्रतिशत, मरमसलाको ३.९२ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मूल्य २१.७५ प्रतिशतले बढेको छ ।
शिक्षाको ७.५६ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
बिमा तथा वित्तीय सेवा उपसमूहको मूल्य भने ०.०३ प्रतिशतले घटेको छ ।
क्षेत्रगत रूपमा हेर्दा ग्रामीण क्षेत्रमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.९९ प्रतिशतले र सहरी क्षेत्रमा २.५७ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ३.३७ प्रतिशत मुद्रास्फीति देखिएको छ भने कोशी प्रदेशमा ३.२५ प्रतिशत, बागमतीमा २.१० प्रतिशत, लुम्बिनीमा २.६२ प्रतिशत, गण्डकीमा १.७६ प्रतिशत, कर्णालीमा १.०८ प्रतिशत र सुदूरपश्चिममा १.२७ प्रतिशत रहेको छ ।
काठमाडौँ उपत्यकामा मुद्रास्फीति २.४८ प्रतिशत, तराईमा २.६५ प्रतिशत, पहाडमा १.९४ प्रतिशत र हिमाली क्षेत्रमा २.६६ प्रतिशत रहेको छ ।
पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०१ प्रतिशत थियो ।
यसैगरी, तलब तथा ज्याला सूचकाङ्कतर्फ चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वार्षिक बिन्दुगत वृद्धि ६.०३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।







