कांग्रेस परिवारवाद र गुटबन्दीबाट मुक्त भयो : सभापति गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी अब सबै प्रकारका परिवारवाद र गुटबाट पूर्णतः मुक्त भएको घोषणा गरेका छन्।

काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो घोषणा गरेका हुन्। उनले आजैदेखि पार्टी एकतावद्ध भएर अघि बढ्ने बताए।

थापाले पार्टी गुटमुक्त होस् भन्ने पार्टी कार्यकर्ताहरूको वर्षौंदेखिको चाहना आज आएर पूरा भएको दाबी गरे। उनले भने, ‘नेपाली कांग्रेस पार्टी आजदेखि सबै खाले परिवारवादबाट मुक्त भयो।

सबै गुटबाट पनि मुक्त भयो। अबदेखि कांग्रेसमा कोही ६० पनि छैन। कोही ४० पनि छैन। हामी सबै एउटै हो। यहाँ कसैले कसैलाई चिन्दैनन्।

गुटहरू मासियोस् भन्ने कुरा जुन तपाईंहरूले चाहनुभएको थियो, त्यही कुरा आज हामीले पूरा गरेका छौँ।’ सभापति थापाले पार्टीलाई एकतावद्ध बनाउँदै सबै नागरिकको आफ्नो पार्टी बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाए।

नवनिर्वाचित सभापति गगनकुमार थापाले कांग्रेसजस्तो ऐतिहासिक पार्टीको नेतृत्व गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको बताए। महाधिवेशनलाई सम्बोधन गर्दै थापाले पार्टी सभापतिको रूपमा कांग्रेस नेता कार्यकर्ताको शिर निहुरिन नदिने संकल्प पनि गरे।

उनले पार्टीका सदस्यहरूको आत्मसम्मान र अभिमत जोगाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए।थापाले पार्टी नफुटेको स्पष्ट पार्दै कसैले पनि यस्तो कुरा नगर्न आग्रह गरे।

उनले १४औं महाधिवेशनमा निवर्तमान सभापति देउवालाई चुनेका प्रतिनिधिहरूले नै आफूलाई सभापतिमा चुनेको उल्लेख गर्दै पार्टी विभाजित नभएको स्पष्ट पारे। उनले भने, ‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाति फराकिलो हुन्छ।

यो सानो जिम्मेवारी होइन। म इमानदारीतापूर्वक भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पिनुभएको छ, कसैको पनि शिर झुक्न दिने छैन। नेपाली कांग्रेसको शान राख्छु।’

सभापति थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधता दिनेमा विश्वस्त रहेको पनि बताए। उनले संविधानले चिनेको निर्वाचन आयोग कुनैपनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने ठूलो विश्वास राखेको बताए।

उनले भने, ‘हाम्रो संविधानले चिनेको निर्वाचन आयोग कुनैपनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने ठूलो विश्वास छ। निर्वाचन आयोगले प्रचलित कानून, पार्टी विधान र परम्परा हेर्छ।

विधानमा प्रतिनिधिभन्दा माथि अरु कुनै संरचना भनेको छैन।’ थापाले सभापति देउवालाई सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने अडान दोहोऱ्याए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *