कीएभ — युरोपेली सङ्घ (इयू) ले युक्रेनलाई उपलब्ध गराउने ९० अर्ब युरो बराबरको ऋण प्याकेजको अधिकांश रकम सैन्य क्षेत्रमा खर्च गर्ने भएको छ। ब्रसेल्सले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कुल ऋणको करिब दुई तिहाइ हिस्सा युक्रेनको रक्षा क्षमता मजबुत बनाउन प्रयोग गरिनेछ भने बाँकी रकम राज्यको नियमित बजेट तथा प्रशासनिक खर्चका लागि छुट्याइनेछ।
लामो समयसम्म चलेको कूटनीतिक रस्साकस्सीपछि गत डिसेम्बरमा इयू सदस्य राष्ट्रहरू युक्रेनलाई यस्तो ठूलो परिमाणको आर्थिक तथा सैन्य सहयोग दिन सहमत भएका थिए। रूसले युक्रेनमाथि सुरु गरेको आक्रमण पाँचौँ वर्षतर्फ उन्मुख भइरहँदा नगद अभावमा परेको किएभका लागि यो ऋण प्याकेज अत्यन्त महत्वपूर्ण मानिएको छ।
इयू आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यस सहयोगले युक्रेनलाई युद्धका मोर्चामा आफ्नो प्रतिरक्षा थप सुदृढ बनाउन र देशभित्रका आधारभूत सार्वजनिक सेवाहरू निरन्तर सञ्चालन गर्न मद्दत पुग्ने बताइन्। उनका अनुसार ऋणको ठूलो हिस्सा युक्रेन तथा युरोपेली मुलुकहरूबाटै हतियार र सैन्य सामग्री खरिदमा खर्च गरिनेछ।
यो निर्णयले युरोपको रक्षा उद्योगलाई सशक्त बनाउने र सैन्य आपूर्तिमा अमेरिकामाथिको निर्भरता घटाउने फ्रान्ससहित केही देशहरूले उठाउँदै आएको मागलाई समेत सम्बोधन गरेको देखिन्छ। यद्यपि, आवश्यक सामग्री युरोपमै उपलब्ध नभएमा युक्रेनले युरोप बाहिरका देशबाट पनि खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
भोन डेर लेयनका अनुसार यो लगानीले युरोपमा रोजगारी सिर्जना, अनुसन्धान तथा विकासलाई पनि प्रोत्साहन गर्नेछ। रुसी केन्द्रीय बैंकको रोक्का गरिएको सम्पत्ति प्रयोग गर्ने प्रस्ताव असफल भएपछि इयू नेताहरूले साझा बजेटमार्फत ऋणको ग्यारेन्टी गर्ने सहमति गरेका थिए।
अब यो ऋण प्याकेजलाई युरोपेली संसद् र सदस्य राष्ट्रहरूले अन्तिम स्वीकृति दिएपछि मात्र रकम भुक्तानी प्रक्रिया अघि बढ्नेछ। यस ऋणमा वार्षिक करिब तीन अर्ब युरो बराबरको ब्याज भने इयूले आफ्नै बजेटबाट व्यहोर्ने निर्णय गरिएको छ।






