काठमाडौं । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा काठमाडौंको ऐतिहासिक बस्ती टोखामा चाकु उद्योगमा चहलपहल बढेको छ। पर्वको पूर्वसन्ध्यामा चाकु बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याइ छ। यस वर्ष टोखाबाट मात्र पाँच करोड रुपैयाँभन्दा बढी मूल्यको चाकु बिक्री भएको व्यवसायीहरूको अनुमान छ।
हाल टोखामा १८ वटा साना–ठूला उद्योग सञ्चालनमा छन्। ती उद्योगमध्ये १० वटाले मुख्य रूपमा चाकु उत्पादन गर्दै आएका छन् भने बाँकीले तिल र भूजाका लड्डुजस्ता परिकार बनाउँछन्। टोखा नगरपालिका–२ र ३ मा केन्द्रित यी उद्योगले नेपालमा खपत हुने कुल चाकुको करिब ६० प्रतिशत आपूर्ति गर्ने गरेका छन्। यहाँ बनेको चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन र कीर्तिपुरसँगै नारायणघाट, पोखरा, बुटवल र विराटनगरजस्ता प्रमुख सहरसम्म पुग्ने गरेको छ।
टोखा परम्परागत चाकु संरक्षण समाजका अनुसार टोखाको चाकु नेपालमै सीमित छैन। यहाँ उत्पादित चाकु जापान, अमेरिका र अष्ट्रेलियासम्म निर्यात हुने गरेको छ। नेवारी भाषामा ‘टु’ को अर्थ उखु र ‘ख्यः’ को अर्थ फल्ने ठाउँ भन्ने जनाइन्छ, जसबाट टोखा नाम रहन गएको मानिन्छ। कुनै समय उखु खेतीका लागि परिचित यो क्षेत्र सहरीकरणसँगै परिवर्तन भए पनि चाकु बनाउने परम्परा भने निरन्तर जोगिँदै आएको छ। अहिले भने कपिलवस्तुको चन्द्रौटाबाट सख्खर ल्याएर चाकु बनाउने गरिन्छ।
टोखामा सादा र मसला चाकुसँगै स्पेसल चाकु, सेतो र कालो तिलको लड्डु, पुष्टकारी तथा बदाम लड्डु उत्पादन हुन्छन्। बजारमा सादा चाकु प्रतिकिलो १४० रुपैयाँ र मसला चाकु १५० रुपैयाँमा बिक्री भइरहेको छ।
टोखा नगरपालिकाले यस ऐतिहासिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्न ‘चाकु स्तम्भ’ निर्माण गर्ने तयारी अघि बढाएको छ। नगर प्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–२ मा स्तम्भ निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ। नगरपालिकाले टोखाको चाकुलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्ने लक्ष्यसमेत राखेको छ।
माघे सङ्क्रान्तिमा चाकु खानैपर्ने सांस्कृतिक मान्यता र जाडो मौसममा स्वास्थ्यका लागि लाभदायक मानिने विश्वासका कारण टोखाको चाकुको माग वर्षेनी बढ्दो छ






