काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सहकारी ठगीसम्बन्धी मुद्दा यदि कुनै दबाब वा चलखेलमा फिर्ता गरिए त्यसमा संलग्न वकिल र मुख्यन्यायाधिवक्तामाथि चुनावअघि नै कडा कारबाही हुनुपर्ने जेन्जी अभियन्ता कृष्ण मोहन सहनीले चेतावनी दिएका छन्।
अभियन्ता सहनीले राजनीतिक दबाब, आर्थिक चलखेल र सत्ताको आडमा गम्भीर आपराधिक मुद्दा कमजोर पार्ने वा फिर्ता गर्ने प्रयास भइरहेको आशंका व्यक्त गरे। उनले सहकारी ठगीजस्तो संवेदनशील र जनताको प्रत्यक्ष सरोकार जोडिएको मुद्दा फिर्ता हुनु न्यायमाथिको खुला प्रहार हुने बताए।
उनका अनुसार यदि मुद्दा मिलेमतोमा फिर्ता गरियो भने त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित वकिल र मुख्यन्यायाधिवक्तामाथि जानेछ। “चुनाव नजिकिँदै जाँदा यस्ता गतिविधि बढ्ने सम्भावना हुन्छ, त्यसैले राज्य समयमै सचेत हुन आवश्यक छ, सहनीले भने।
सहकारी पीडितहरूको समस्या अझै समाधान नभइसकेको अवस्थामा मुद्दा कमजोर बनाउने वा फिर्ता गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने उनको भनाइ छ। “जनताको पसिना र बचत लुट्नेहरूलाई कानुनी संरक्षण दिन खोजियो भने त्यसविरुद्ध जनस्तरबाट कडा प्रतिरोध हुन्छ, उनले चेतावनी दिए।
जेन्जी आन्दोलनले यो मुद्दालाई नजिकबाट निगरानी गरिरहेको जनाउँदै सहनीले न्यायालय, सरकारी वकिल र राज्यका सम्पूर्ण निकायलाई निष्पक्ष र पारदर्शी ढंगले काम गर्न आग्रह गरे। कानुन सबैका लागि समान हो भन्ने सिद्धान्त कमजोर पार्न खोजियो भने जेन्जी आन्दोलन चुप लागेर बस्दैन, उनले स्पष्ट पारे।
अन्त्यमा उनले सहकारी ठगीसम्बन्धी मुद्दामा कुनै पनि प्रकारको राजनीतिक सौदाबाजी नगर्न सरकार र सम्बन्धित निकायलाई कडा चेतावनी दिएका छन्।







