काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने जानकारी सत्य नभएको बताएका छन् ।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चितवनमा अहिले भइरहेको विद्युत् आपूर्तिको अवरोध मर्मत तथा सबस्टेशन स्तरोन्नतिको कारण भएको स्पष्ट पारे । ‘यो लोडसेडिङ होइन, मर्मतको लागि आवश्यक आपूर्ति बन्द मात्रै हो,’ उनले भने ।
चितवनस्थित सबस्टेशनमा पुरानो कन्डक्टर फेर्ने काम भइरहेको हुँदा आइतबार र सोमबारका दिन केही समय विद्युत् आपूर्ति रोकिएको हो । उनले विद्युत् क्षमताको माग बढ्दासँगै पुरानो नेटवर्कले धान्न नसक्ने स्थिति आएको र त्यसैले नयाँ कन्डक्टर राख्नुपर्ने अवस्था आएको बताए ।
नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले भने केही क्षेत्रमा ६ घण्टा लोडसेडिङ हुने तालिका सार्वजनिक गरिसकेको छ । केन्द्रका अनुसार नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूमा अत्यधिक गर्मी, रोपाइँको समय र सिँचाइको मागका कारण विद्युत् लोड अत्यधिक बढेको छ ।
भरतपुर १३२/३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारले अधिकतम ३०० एम्पिएरसम्म मात्र लोड वहन गर्न सक्ने क्षमता भए पनि हाल ४५० एम्पिएरसम्मको माग हुँदा प्रणालीले धान्न नसकेको जनाइएको छ ।





