काठमाडौँ। एनआइसि एशिया बैंक लिमिटेडको रिकोभरी डिपार्टमेन्टका कर्मचारीमाथि आतंक मच्चाइएको पाईएको छ। बैंकका सहायक सीइओ अर्जुनराज खनिया र रिकोभरी हेड सुमित गिरीले खराव ऋण उठाउन ‘एग्रेसिभ रिकोभरी’ को नाममा कर्मचारीमाथि आतंक सिर्जना गरेका हुन्।
नेतृत्वको अदूरदर्शी निर्णयले जथाभावी बाँडिएका ऋण उठ्न नसक्दा बैंक खराव कर्जाको दलदलमा छ। सोहि ऋण उठाउन बैंक व्यवस्थापनले जुनियर कर्मचारीमाथि अनावश्यक दवाव दिँदै आएको भेटिएको छ।
बैंक स्रोतका अनुसार गिरीले रिकोभरी डिपार्टमेन्टमा रहेका कर्मचारीलाई राती अवेरसम्म पनि काम लगाउने गरेका छन्। यसमा सहायक सीइओ खनियाले गिरीमाथि दवाव दिने र उनको निर्देशनमा गिरीले कर्मचारीको संवेदनशीलता समेत नबुझी जबर्जस्ती काम गराउने गरेको भेटिएको छ।
रिकोभरी डिपार्टमेन्ट सहायक सीइओ खनियाको मातहतमा छ। खनिया र गिरीको निर्देशनअनुसार काम गर्न नसकेपछि दर्जनौँ कर्मचारीले बैंक छोडिसकेका छन् भने केहि बैंक छोड्ने तयारीमा छन्।
रिकोभरीका कर्मचारीप्रति गिरीको ज्यादतीबारे जानकारी गराउँदा -‘काम गर्न नसके घरमै बस्नु नि, जागिर किन खानु त !’ भन्ने जवाफ सहायक सीइओ खनियाबाट आउने गरेको बैंकका एक कर्मचारीबताउँछन्।
उनी भन्छन्,- ‘उक्त विभागको मूल लक्ष्य नै कर्मचारीलाई अबेरसम्म काम लगाउनु मानसिकपीडा दिनु हो। सात महिना माथिको गर्भवती कर्मचारीलाई समेत जबरजस्ती रिकोभरी डिपार्टमेन्टमा ल्याएर काम लगाउने र अन्ततः जागिरबाट निकाल्ने षड्यन्त्र गरिएको छ। दुधे बच्चा भएकी आमालाई समेत ‘नो च्वाइस’ मा राखी राती अबेर बजेसम्म काम गर्न बाध्य बनाईएको छ।’
स्रोतका अनुसार बैंकभित्रका यी अमानवीय कार्यमा सीइओ रोशनकुमार न्यौपानेको पूर्ण साथ छ। गिरी न्यौपानेका अतिविश्वासपात्र मानिन्छन्। न्यौपानेकै आडमा खनिया र खनियाको आडमा गिरीले कर्मचारीमाथि आतंक सिर्जना गरिरहेका छन्। न्यौपानेमाथि पनि जथाभावी बाँडेका ऋण उठाउन संचालक समितिको दवाव छ।
रिकोभरी डिपार्टमेन्टका कर्मचारीलाई ‘नो च्वाइस’ भन्दै गिरीले आधा रातसम्म पनि बस्न बाध्य पार्दै आएका छन्। सोहि विभागमा कार्यरत एक कर्मचारी भन्छन्,-‘ सार्वजनिक बिदा तथा शनिबार समेत कार्यालयमा आउन उर्दी जारी गरिन्छ। यस विभागका कर्मचारीलाई आज आउन मिल्दैन भन्ने छुट छैन र कसैले यसो भन्ने गरेको सुनिदैन पनि। यति सम्म छ कि, हाजिरको समय हेर्लान भनेर राष्ट्र बैंक र युनियनलाई इन- आउटको डाटा ट्रान्सफर गरेर देखाइन्छ।’
उनका अनुसार राष्ट्र बैंकले रिकोभरी डिपार्टमेन्टमा भएको यस किसिमको बेतिथिका बिषयमा स्पष्टीकरण समेत माग गरेको छ। तर, नियामकको निर्देशन समेत वेवास्ता गर्दै उक्त बिषयलाई फाइनल रिपोर्टबाट हटाइएको छ।
यस विभागमा काम गर्ने कर्मचारीलाई गिरीले ”मासु भात खान दिएकै छौँ घर किन जानुपर्यो” भन्नेसम्मको शब्द प्रयोग गर्दै आपमानित गर्ने गरेको स्रोत बताउँछ। स्रोतका अनुसार यस डिपार्टमेन्टमा काम गर्ने महिला कर्मचारीका श्रीमानले गिरी र खनियालाई टेलिफोन गरी,’राती ९ बजे सम्म मेरो श्रीमतीलाई किन राखिस ?’ तिम्रा घरमा श्रीमती छैनन् ? के तिमीहरु पनि रातभरी श्रीमतीलाई साहुको काममा पठाउँछौँ ? भन्दै प्रश्न समेत गर्ने गरेको र उनीहरुकै कारण परिवारमा दिनहुँ तनाव हुने गरेको गुनासो गर्ने गरेका छन्।
नियमअनुसार सुपरभाईजरले असिस्टेन्ट मेनेजरलाई कामको निर्देशन दिने या कामको बाँडफाँड गर्ने गरिन्छ। तर, एनआईसी एशिया बैंकमा भने हाकिमसँग पहुँच भएका कर्मचारीले कुनै पनि कोड अफ कन्डक्ट नमान्ने र व्यवसायीकता र सँस्थागत सुशाशनलाई समेत मजाक बनाईरहेको स्रोत बताउँछ।
सँस्थागत सुशाशनको हिसाबले श्रीमान् श्रीमती एउटै शाखामा नराख्ने बैंकिङ नीति छ। तर, सीइओ न्यौपानेको निकट भएकै कारण रिकोभरी डिपार्टमेन्टमा नियमविपरीत श्रीमान-श्रीमतिसँगै काम गरिरहेका छन्।
यस सम्बन्धमा नियामक निकाय बेखबर छैन । राष्ट्र बैंकमा कर्मचारीका दर्जनौँ उजुरी तथा गुनासो दर्ज भएका छन्। तर, न्यौपाने पहुँच र पावरका अघि नियामक निकाय समेत मुकदर्शक बनिरहेको छ ।
प्रतिक्रियाका लागि हामीले बैंकका सहायक सीइओ खनियालाई सम्पर्क गरेका छौँ। तर, उनले प्रतिक्रिया दिन चाहेनन्।





