मैले ६१ लाख पारिश्रमिक लिएको छैन, प्रमाणित गर्नेलाई ६१ लाख दिन्छुः माग्ने बुढा

काठमाडौं । ‘माग्ने बुढा’को नामले चर्चित अभिनेता केदार घिमिरेले आफूले फिल्मबाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भन्ने कुराको खण्डन गरेका छन् । आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले फिल्मको प्रचार र फण्डाको लागि निर्माताले बोल्न भनेको र आफूले बोलेको मात्र बताए ।

‘मैले त्यो रकम लिएको होइन । कति रकम लिएको भन्ने कुरा सार्वजनिकरुपमा भन्न चाहन्न तर, त्यति पैसा लिएको होइन’ उनले प्रेसमिटमा भने, ‘निर्माता मुनाल घिमिरेजीले बोल्न भनेपछि मैले बोलेको हुँ ।’

उनले अघि भने, ‘दाई, किन यत्रो धेरै धेरै बढाउने बढ्ता भनेर भन्दा तिमी चुप लाग न भाई, तिमीलाई थाहा छैन, मैले दुईचारवटा फिल्म पहिला बनाइसक्या छु । हाइप बढाउनुपर्छ है । जे भनेर भएपनि हल्ला गर्नुपर्छ, हाइप बढाउनुपर्छ भनेर उहाँले बढाइ बढाइ भन्ने ।’

असार पहिलो साता फिल्म ‘माग्ने राजा’ले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख रुपैयाँ दिएको बताएका थिए । उनले त्यसो बताएपछि केही मिडियाले महंगा कलाकार भन्दै प्रचार गरेका थिए । तर महिना दिन नबित्दै उनै निर्माता घिमिरेले आफ्नै कुराको खण्डन गरेका छन् ।

शनिबार छायांकन भएको ‘कमेडी नाइट विथ च्याम्पियन्स’को नयाँ एपिसोडमा निर्माता घिमिरेले यस कुराको खण्डन गरिसकेका छन् । यो शो ३ सातापछि प्रसारण हुने तयारीमा छ । ‘हाइप हो, केही न केही फण्डा नगरिकन फिल्म चल्दैन’ मुनालले उक्त शोमा बोलेको कुरा उध्दृत गर्दै केदारले पत्रकार सम्मेलनपछि भने ।

‘६१ लाख लिएको प्रमाणित गर्नेलाई ६१ लाख रुपैयाँ नै दिन्छु’ केदारले भने, ‘निर्माताज्यूले कमेडी नाइट विथ च्याम्पियन्स पारिश्रमिकको कुरा गलत भएको भनेर बोलेपछि मलाई पनि प्रेसमिटमा बोल्न सजिलो भएको हो ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *