काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको बताएका छन्।
लोकतन्त्र दिवसको अवसरमा बिहीवार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा महामन्त्री थापाले संवैधानिक आयोगका पदाधिकारीहरुलाई अदालतले ‘तलाई हान्दिउँ’ भन्दै झुलाइरहेको आरोप लगाएका हुन्।
आयोगका पदाधिकारीहरुको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्तिको परीक्षण नभएको भन्दै थापाले अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ? भन्दै प्रश्न गरेका छन।
थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत दोषिलाई कारबाही गर्ने कुरामा राजनीतिक डिल गर्ने गरेको टिप्पणी गर्दै लोकतन्त्रको कडीका रुपमा रहेका संस्थाहरुप्रति जनताको विश्वास घट्दै गएको बताए।
‘ आइतवार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ? अनि अख्तियारले यी विषयमा मैले अनुसन्धान गरे भन्छ । अनुसन्धान गरिसकेपछि मैले फलानो फलानो व्यक्तिलाई दोषी पाएको छु। उ आफैंले समाचार दिन्छ । अनि आफैं कारबाही गरुँ कि नगरुँ भनेर राजनीतिक डिल गर्न थाल्छ।’ उनले भने
अदालत, अख्तियार र संसदको प्रभावकारीतामाथि निराशा पैदा भइरहेको, अख्तियार, अदालत, संसद र पार्टीमाथि जनतामा संशय पैदा हुनु नै लोकतन्त्रको मुख्य चुनौती रहेको महामन्त्री थापाको भनाइ छ ।
‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको विषयहरुलाई दुई/ तीन वर्षदेखि तलाई हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ, थापाले अगाडि भने, ‘त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ । एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरुको कार्यअवधी सकिन लागिसक्यो । अब त्यो ठिक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतको लागि चाँही चार वर्ष समय लाग्छ ?’






