काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंक १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा ७.२७ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको नाफा घटे पनि खुद ब्याज आम्दानी र संचालन नाफा भने बढेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २६.३२ प्रतिशत बढेर ८ अर्ब ४३ करोड ९६ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, बैंकको संचालन नाफा ३१.३८ प्रतिशत वृद्धि भई ३ अर्ब ५७ करोड २७ लाख ५५ हजार रुपैयाँ छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४० करोड २९ लाख रुपैयाँ पुगेको छ।
बैंकको जगेडा कोषमा ९ अर्ब ८६ करोड २७ लाख रुपैयाँ छ । तेस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६ पैसा कायम भएको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ।
यस्तै, समिक्षा अवधिमा बैंकले २ खर्ब ७८ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब २९ अर्ब ९० करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकसँग ४.८१ प्रतिशत खराब कर्जा छ।






