काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम सर्टलिस्ट गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले प्रस्तुतीकरण, योग्यता र अनुभवका आधारमा १९ आवेदकमध्येबाट ५ जनाको नाम अध्यक्षका लागि सर्टलिस्ट गरेको हो ।
समितिले चिरञ्जिवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी र सन्तोषनारायण श्रेष्ठको नाम सर्टलिस्ट गरेको हो ।
सर्टलिस्टमा परेका मध्ये कार्की नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।
छनाेटमा परेका मध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिने छ । तीनमध्ये एक जनालाई मन्त्रिपरिषद्ले चार वर्षका लागि धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।
अध्यक्षबाट रमेश हमाल बाहिरिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका लागि आवेदन मागेको थियो ।






