व्यापार घाटा कम गर्न निर्यात सहजीकरण गरिनुपर्छ : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा विद्यमान व्यापार घाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताएका छन् ।

झापा चेम्बर अफ कमर्सको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवं खानीजन्य बस्तुहरूको पहिचान एवं प्रर्वद्धनसँगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिएका हुन् ।

चालु आर्थिक वर्षको ५ महिनामा नै व्यापार घाटा ५ खर्व ९७ अर्ब रुपैयाँ नाघेको भन्दै अध्यक्ष मल्लले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा बजेट कै हाराहारीमा हुन थालेको बताए ।

उनले भने, ‘आर्थिक समृद्धि र विकासको बाधक मुलुकको चरम व्यापार घाटा पनि हो, आन्तरिक उत्पादन नहुँदा कृषि जन्य वस्तुहरूमा समेत परनिर्भरता बढ्दो क्रममा छ, सम्भावना भएका क्षेत्रहरूको पहिचान गरी निर्यात सहजीकरण गरिनुपर्दछ, ।’

निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने हो भने कृषि, खानी, जलविद्युत, पर्यटन र सूचना ाप्रविधियुक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति योजना बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

निर्यातयोग्य बस्तुहरूको पहिचान र प्रवर्द्धन सम्बन्धी ठोस नीतिगत व्यवस्थाका लागि नेपाल चेम्बर अफ कमर्सले पनि पहल गरिरहेको उनले बताए ।

यसैबिच झापा चेम्बरको छैटौँ साधारण सभाले ओमकृष्ण विमलीलाई अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *