काठमाडौं । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा भारतले नेपाललाई १० विकेटको फराकिलो अन्तरले हराएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सकेको थियो ।
समुह ए मा रहेको नेपालले तीनै खेलमा पराजित हुँदै बाहिरिएको हो । भारतका लागि अर्सिन अतुल कुलकर्नी र आर्दश सिंहले लक्ष्य भेट्टाएका हुन् । आर्दश १३ तथा अर्सिन ४३ रनमा अविजित रहे ।
नेपाल भारतसँग २२.१ ओभरमा ५२ रन बनाउँदा अलआउट भएको हो । नेपालका उत्तम थापामगर र दिपक प्रसाद ढुम्रेले खाता नै खोल्न सकेनन् ।
नेपालका लागि हेमन्त धामीले सर्वाधिक ८ रन जोडे । त्यस्तै नेपालका दिपक बोहरा र अर्जुन कुमालले समान ७–७ रनको योगदान गरे । दिपेश कँडेल र गुल्शन झाले समान ४–४ रन बनाउँदा सुवास भण्डारी र कप्तान देव खनालले दुई दुई रन जोडे । ओपन दिपक बोहरा एक रनमा आउट भएका हुन् । नेपालका आकाश चन्द ४ रनमा अविजित रहे ।
भारतका लागि राज लिम्बानीले सर्वाधिक ७ तथा आराध्या शुक्लाले दुई र अर्सिुन अतुल कुलकर्नीले एक विकेट लिए । जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट तथा दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।







