सरकारले कृषि बीमालाई प्रोत्साहन गरेसँगै लघुबीमा गराउने पनि बढेका छन् । बीमा समितिका अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ पुस र माघको तुलना गर्दा एक महिनाको अवधिमा लघु बीमा गराउने पनि बढेका छन् । एक महिनाको अन्तरालमा निर्जीवन बीमा कम्पनीहरूको लघु बीमामर्फत संकलन हुने शुल्क ३.१४ प्रतिशतले वृद्धि गरेको छ ।
समितिका अनुसार लघु बीमामार्फत पुसमा ३९ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । माघ महिनामा उक्त बीमा बापतको रकम ४१ लाख ११ हजार रुपैयाँ आए आर्जन भएको समितिको तथ्यांकमा रहेको छ । कृषि बीमा गराउदा धेरैले लघु बीमामार्फत नै गराएकाले पनि लघु बीमामा वृद्धि भएको बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमन पौडेलले जनाएका थिए ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी लघु बीमा गर्नेको वृद्धि प्रदेश १ मा भएको छ भने बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा भने लघु बीमा गर्नेहरू घटेको छन् । कर्णाली प्रदेशमा पुसमा लघु बीमा शुल्कबापत ९३ हजार रुपैयाँ आर्जन भएको थियो भने माघमा उक्त शुल्कबापत ७६ हजार रुपैयाँ मात्र निर्जीवन बीमा कम्पनीहरूलाई आर्जन गरेको थियो ।
लुम्बिनी प्रदेशमा लघु बीमाशुल्क बापत पुसमा ४ लाख ९७ हजार रुपैयाँ आर्जन भएको थियो भने माघमा उक्त बीमाशुल्क ४ लाख २७ हजार रुपैयाँ आर्जन गरेको थियो । यसैगरी बाग्मती प्रदेशमा पुसमा १३ लाख ५१ हजार लघुबीमा शुल्क संकल हुँदा माघमा भने घटेर १२ लाख ८० हजार रुपैयाँमा भएको छ ।
प्रदेश नं। १ मा लघु बीमा गर्ने बढेसँगै लघु बीमाशुल्क गर्ने पनि बढेको छ । पुसमा ६ लाख ५६ हजार लघु बीमाशुल्क संकलन गरेकोमा माघमा ८ लाख ६२ हजार रुपैयाँ भएको थियो ।