नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँट गरेको छ । आज येलो पेगोडा होटल, जमल काठमाडौंमा भएको बाँडफाँट कार्यक्रममा बढी पाउनेले ११ कित्तासम्म शेयर पाउनुभएका छन् ।
कम्पनीको आईपीओ खरिदका लागि आवेदन पेस गरेकामध्य २४ लाख ४९ हजार ६ सय ४५ जना आवेदकको भने हात खाली भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललका अनुसार कम्पनीको आईपीओ खरिदका लागि कुल २५ लाख २७ हजार १ सय १ जना आवेदकहरुबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको माग गरेको थियो ।
कुल आवेदकहरुमध्य रितपूर्वक नभएका ४ हजार १ सय १६ जनाको आवेदन रद्द गरिएको छ । २५ लाख २२ हजार ९ सय ५५ जना योग्य आवेदकहरुलाई मात्र बाँडफाँटमा गराईएको विक्री प्रबन्धकको भनाई रहेको छ ।
कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको थियो । सर्वसाधारणमा कुल रू ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ वितरण गरेको हो ।
सर्वसाधारणमा वितरण हुने कुल कित्ता शेयरमध्य शून्य दशमलव ५ प्रतिशत दरको १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू १७ करोड २१ लाख २५ हजार रहेको छ ।
आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू। २५ करोड ५० लाख पुगेको छ । हाल संस्थापक तर्फ ६७ दशमलव ५० प्रतिशत स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर बाँडफाँट गरेको हो ।