व्यास नगर म्याराथनकाे उपाधि कान्छीमायालाई

दोस्रो व्यास नगर महिला खुला हाफ म्याराथनको उपाधि कान्छीमाया कोजुले जितेकी छन् । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार व्यास नगरपालिकाले आयोजना गरेको हाफ म्याराथनमा एक घण्टा ५५ मिनेट १२ सेकेन्डमा निर्धारित दुरी पार गर्दै कान्छीमायाले उपाधि जितेकी हुन् ।

५० जना धाविकालाई पछाडि पार्दै कान्छीमायाले नगद ४१ हजार ७८ रुपैयाँ प्राप्त गरेकी छन् । व्यास नगरपालिका–३ मा रहेको व्यास गुफाबाट सुरू भएको म्याराथन व्यास नगरपालिका–११ तनहुँसुरमा पुगेर सकिएको थियो । २१ किलोमिटर दुरीमा म्याराथन भएको हो ।

नेपाल प्रहरीकी रेखा बम विष्टले दुई घण्टा चार मिनेट ४२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो स्थान हासिल गरिन् ।

तनहुँकी नम्रता गुरुङले तेस्रो स्थान हासिल गरेकी छन् । दुई घण्टा ११ मिनेट २३ सेकेण्डमा दुरी पार गर्दै व्यास नगरपालिका–१० की गुरुङले तेस्रो स्थान हासिल गरेकी हुन् । दोस्रो र तेस्रोले क्रमश: ३१ हजार ७८ रुपैयाँ र २१ हजार ७८ रुपैयाँ प्राप्त गरेका छन् ।

व्यास–१० की सन्ध्या अधिकारीले दुई घण्टा ३० मिनेट ४६ सेकेन्डमा, नवलपुरकी यमुना थापाले  दुई घण्टा ३३ मिनेट २४ सेकेन्डमा, कास्कीकी शुष्मा पुनले दुई घण्टा ३८ मिनेट पाँच सेकेन्डमा, व्यास–५ की लक्ष्मी मानन्धरले दुई घण्टा ४० मिनेट ५६ सेकेन्ड र गोरखाकी गंगा कुमालले दुई घण्टा ४३ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै सान्त्वना स्थान हासिल गरे । सान्त्वना पाँच जनाले जनही ११ हजार ७८ रुपैयाँ पुरस्कार पाएका छन् ।

गत बर्ष भएको पहिलो संस्करणको म्याराथनको उपाधि धादिङकी रसिला तामाङले जित्दा खोटाङकी प्रिया राई दोस्रो र पोखराकी अनिता राई तेस्रो भएका थिए ।
व्यास नगरपालिकाले २८ फागुनमा पाँचौ संस्करणको व्यास अल्ट्रा म्याराथन गर्दैछ । हरेक बर्ष १६ माघमा सहिद दिवसका दिन गर्दै आइरहेको अल्ट्रा म्याराथन यस वर्ष कोरोनाका कारण स्थगित भएको थियो ।

मानहुँकोट डाँडादेखि सहिद गाउँ पुलिमराङसम्म ४४ किलोमिटर दुरीमा अल्ट्रा म्याराथन हुने व्यास नगर खेलकुद विकास समितिका अध्यक्ष एवं वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए ।

व्यास अल्ट्रा म्याराथनको विजेताले नगद ८५ हजार ७८ रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले ६५ हजार ७८ रुपैयाँ र तेस्रो हुनेले ५५ हजार ७८ रुपैयाँ पाउने छन् । सान्त्वना हुने पाँच जनालाई जनही १६ हजार ७८ रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *