काठमाडौं । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विभागले न्यौपानेविरुद्ध मुद्धा दायर गरेको हो ।
उनीमाथि कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएको आरोपमा छ । विभागले उनीमाथि एक करोड ९९ लाख रुपैयाँ विगो मागदावी गरेको छ । विभागले गत २३ कात्तिकमा नै न्यौपाने विरुद्धको मुद्दा विशेष अदालतमा दर्ता गरेको हो ।
२०५६ सालदेखि नै रिडी पावरका संस्थापक, प्रवर्द्धक र प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म उक्त संस्थाको अध्यक्ष थिए ।
उनी अध्यक्ष भएकै बेला ४ जेठ २०७८ मा रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको थियो ।
तर उक्त निर्णयभन्दा डेढ महिना अघिदेखि नै तत्कालीन अध्यक्ष न्यौपानेले रिडीको सेयर किनेको भेटिएको थियो ।
त्यतिबेला उनले रिडीको करिब ३० हजार कित्ता सेयर २०३ देखि २१२ रुपैयाँको दरले सेयर किनेका थिए । पछि उनले आफूसँगै भएको समेत गरी रिडीको करिब ४० हजार कित्ता सेयर प्रतिसेयर ५९१ देखि ७३१ रुपैयाँका दरले बेचेको खुलेको थियो ।







