यी गीत जसले दशैँ आएको आभाष दिलाउँछ

काठमाडौं । ‘दशैँ’ प्रत्येक वर्ष हर्ष र उल्लास बोकेर नेपालीको घरदैलोमा आउने गर्छ । शहर गएकाहरु गाउँबेसी फर्कन्छन् । परदेशिएकाहरु घरदेश फर्कन्छन् । दशैँमा उजाडिएका गाउँ पनि बहारले भरिन्छ । टीका, जमरा र पिङ दशैँका मुख्य विशेषता हुन् । दशैँले बिछोडिएकाहरुको जमघट गराउँछ । सबै  एकैठाउँमा जम्मा हुँदा गाउँ ठाउँ नै गुन्जायमान बनाउँछ।

दशैँलाई नयाँ लुगा, मासु र मीठोमसिनो खाने चाडको रुपमा पनि लिने गरिन्छ । पहिलेपहिले नयाँ लुगा लगाउन दशैँ नै कुर्नुपर्ने अवस्था थियो । त्यसैले पनि दशैँलाई खास चाडको रुपमा लिइने गरिन्थ्यो । अहिले भने दशैँ आधुनिकतातिर ढल्किदैँ गइरहेको छ । मीठोमसिनो खान र नयाँ लुगा लाउन दशैँ कुर्न पर्दैन अचेल । तर पनि परम्परा भने मरेको छैन ।

दशैँमा गुन्जिने पूराना गीतहरुले अहिले पनि शहरदेखि गाउँसम्म गुन्जायमान बनाइरहेको हुन्छ । दशैँ आउनुभन्दा एक महिनाअघि देखि नै मालश्री धून गुन्जिन थाल्छ । मंगलधुनसँगै सदाबहार दशैँका गीतहरु गुन्जिएपछि दशैँ नजिकिएको आभाष दिलाइहल्छ । मनमा छुट्टै उर्जा दिलाइहल्छ । आज हामी सदाबहार गुन्जिने दशैँ गीतको बारेमा चर्चा गर्दै छौँ ।

१.‘दशैँ आयो’

चरीररी ररी रै, चरीररी ररी रै, चरीररी ररी रै !

हो दशैँ आयो, हो दशैँ आयो !

वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो !!

नेपालीजनको महान पर्व आँगनमा आइपुग्यो !!

हो दशैँ आयो हो दशैँ आयो!

यो चलचित्र मुग्लानमा समेटिएको लोकप्रिय दशैँ गीत हो । दशैँमा परदेशबाट फर्केर आएका परिवारहरूको अनुहारमा देखिने खुशी, हर्ष र उमङ्गलाई यस गीतले समेटेको छ । लोकनाथ सापकोटाको शब्द र संगीत, उदित नारायण झा र दीपा झाको स्वर रहेको गीतमा खेतमा झुलेका धानका बाला, बारीमा झुलिरहेका कोदोका बाला अनि निधारमा राता अक्षता र जमरा लगाएको वास्तविक नेपाली परिवेश अनुकूल तयार यो गीत दशैँका लागि सदाबहार रहेको छ । यो गीत बज्न थालेपछि दशैँ आएको महसुस हुन थाल्छ ।

२. नमुछे आमा दहिमा टिका नछरे जमरा

‘नमुछे आमादहीमा टीका नछरे जमरा

दैवले पर्दा उठायो आमा आउँदिन फर्केर’।

यो गीतले घर छाडेर परदेशिएकाहरुको वास्तविकतालाई समेटेको छ । गीतले आफ्नो आफन्तबाट टाढा रहेका हर कोहीलाई छोएको छ । अहिले त पर्देसिनु नेपालीको बाध्यता जस्ता बनेको छ । चाडपर्वमा आफन्तसँग टाढा रहनुपरेको बाध्यता अनि विदेशी भूमिमा पर्न सक्ने परिबन्धलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

यो गीतका रचनाकार गायक नारायण रायमाझी हुन् । परदेशिएका नेपालीको आत्मकथा बोल्ने यो गीतमा परदेशमा रहेका छोराले आमालाई आफू मृत्युको संघारमा पुगेकाले नवदुर्गाको प्रसाद जमरा र टीकाको दुःख नगर्न आग्रह गरिएको छ ।

३. दशैँ नै हो कि, यो मेरो दशा

दशैँ नै हो कि, यो मेरो दशा फर्की आएको

वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको

दशैँ आएको दशैँ आएको ..!

दशैँ भनेपछि मनमा एक किसिमको उर्जा पैदा हुन्छ । नयाँ लुगा लगाउने, मिठा परिकार खाने, हाँस्ने र रमाउने पर्व हो दशैँ ।

रचनाकार प्रेम बस्नेतको ‘दशैँ नै हो कि, यो मेरो दशा, फर्की आएको बोलको गीतले दशैँ नजिकिएसँगै खुबै चर्चा पाउँछ । सुगम पोखरेलको आवाजमा गीतले आर्थिक रुपमा कमजोर रहेकाहरुले दशैँमा झेल्नुपर्ने समस्यालाई प्रस्तुत गरेको छ ।

४. रातो टिका निधारमा

रातो टिका निधारमा टलक्क टल्कियो

छातिभित्र मायाको राँको सल्कियो

ए बिजुलीको तार तार …!

पूरानो फिल्म अल्लारेमा समावेश रातो टिका निधारमा बोलको गीतले पनि दशैँको झल्को दिन्छ । सहदेव ढुंगानाको शब्द तथा शम्भुजित बाँसकोटाको संगीत रहेको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको आवाज रहेको छ।

५. अहिलेको दशैँमा आमा घरमा आउँदिन

बाध्य भइयो परदेशमा छिर्न,

आमा मैले पढ्दा लागेको ऋण तिर्न

आमा बिदा पाउँदिन

अहिलेको दसैंमा आमा, घरमा आउँदिन ..!

गायक बद्री पंगेनीको स्वर, राजु परियारको संगीत तथा भगवान भण्डारीको शब्द रहेको यो गीतले पनि दसैंको भाव निक्कै झल्काउँछ । विदेशिएका युवाहरूको कथा बोल्ने यो गीतले दशैँसँग जोडिएका गीतहरू उठान गरिदिएको छ । युवाहरू विदेशिनुको बाध्यता अनि दशैँ जस्तो विशेष पर्वमा घर आउन नसक्नुको पीडा यो गीतको बोल्छ ।

६. वर्षमा दिनमा लैलै, हर्षका दिन यी लैलै

गायक सुगम पोखरेलको यो गीत पनि दशैँमा प्राथमिकतामा पर्दछ । रवि श्रेष्ठको शब्द र गायक पोखरेलकै संगीत रहेको गीतको भिडियोमा निरज सञ्जीव कुशल अस्मिता सुजित लगायतको अभिनय देख्न सकिन्छ । यो गीत पनि दशैँका लागि सदाबहार बनेको छ ।

७ किन आउँछ दशैँतिहार, किन बिदा बार

सशस्त्र प्रहरी बल एपीएफले निर्माण गरेको किन आउँछ दशैँतिहार, किन बिदा बार गीतले राष्ट्रसेवकहरुको कथालाई उजागर गरेको छ । वर्षदिनमा आउने ठूलो पर्व दशैँ पनि छुट्टी नपाउँदाको कठै गीतमा समावेश गरिएको छ ।

देशको सेवामा सर्मपित राष्ट्रसेवक कर्मचारी फौजी र तिनका परिवारको पीडा झल्काउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *