

काठमाडौं । डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् ।
हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै देशभरिका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएकाे हाे ।
अस्पतालको सेवा बन्द हुँदा उपचारकालागि पुगेका विरामीहरु मर्कामा परेका छन् । उनीहरु अस्पतालमा टाँसिएको सूचना हेर्दै आफ्नाे बिरामीले उपचार पाउने आशमा अस्पताल परिसरमा ढुकेर बसिरहेका छन् ।
बिरामीको उपचार गरिरहेको अवस्थामा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएकामा हालसम्म दोषीलाई कारबाही हुन नसक्दा समग्र स्वास्थ्य क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको नेपाल चिकित्सक सङ्घले जनाएको छ ।
संघले सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्दको निर्णय गरेको हो ।
आन्दोलनरत चिकित्सकहरुले हातमा कालो पट्टी र ब्यानरसहित विरोध गरिरहेका छन् । अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई लिएर भदौ २७ गते सन्चो अस्पताल दुई चिकित्सकमाथि कुटपिट भएको थियो ।

अर्थ सन्जाल