काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीलाई ९ अर्ब ४९ करोड १० लाख रूपैयाँ बोनस छुट्याएको छ । प्रत्येक बैंक तथा वित्तीय संस्थाले बोनस ऐनले तोकेअनुसार कूल नाफा अर्थात कर तिर्नुअघिको नाफाबाट १० प्रतिशत कर्मचारीलाई बोनसवापत छुट्याउने गरेका छन् । सोही अनुसार नै हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले सो रकम बराबरको बोनस छुट्याएका हुन् ।
कर्मचारीलाई सबैभन्दा बढी बोनस वितरण गर्ने वाणिज्य बैंकहरुमा नबिल बैंक रहेको छ । नबिलले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीका लागि १ अर्ब १९ करोड ८० लाख रूपैयाँ छुट्याएको छ ।
त्यसैगरी, सबैभन्दा बढी बोनस वितरण गर्ने वाणिज्य बैंकहरुको दोस्रो नम्बरमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमईले कर्मचारीका लागि १ अर्ब १२ करोड २० लाख रूपैयाँ बोनस छुट्याएको छ । त्यसैगरी एनआईसी एशिया बैंकले ७१ करोड ९७ लाख रुपैयाँ रूपैयाँ बोनस छुट्याएको छ ।
हिमालयन बैंकले ७१ करोड ५१ लाख, स्ट्यान्डर्ड चार्टर्डले कूल ५५ करोड ९७ लाख, एनएमबि बैंकले ५४ करोड, र एभरेष्टले ५२ करोड ३८ लाख रुपैयाँ कर्मचारीलाई बोनस बाँड्न छुट्ट्याएको छ।
प्रभुले ४५ करोड २६ लाख, सानिमाले ४१ करोड १९ लाख, प्राइम कमर्सियलले ३७ करोड ५ लाख, नेपाल एसबीईले ३५ करोड ७८ लाख, लक्ष्मीले ३५ करोड ५० लाख, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ६० लाख रुपैयाँ, कुमारीले ३४ करोड १५ लाख, सिटिजन्सले ३३ करोड ४८ लाख र माछापुच्छ्रेले २९ करोड ४७ लाख रुपैयाँ बोनस कर्मचारीलाई बाँड्ने भएको छ ।
सबैभन्दा कम बोनस बाड्नेमा सरकारी स्वामित्वको नेपाल बैंक देखिएको छ । यस बैंकले २३ करोड ६० लाख रुपैयाँ बोनस छुट्याएको छ । यस्तै कृषि विकास बैंकको पनि अन्य बैंकको तुलनामा कम बोनस रहेको छ । सो बैंकले कर्मचारी बोनसका लागि २४ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने कर्मचारीका लागि बोनस छुट्याएको छैन ।
बैंकहरूले घोषणा गरेको बोनस साधारणसभाले पारित गरेपछि अधिकांश बैंकहरूले वितरण गर्नेछन् भने केहीले आर्थिक वर्षको अन्त्यपछि दिनेछन् । यस्तै केहीले चाडबाड लक्षित (दशैँ तिहार) गरी बोनस वितरण गर्नेछन् ।




