काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले बाँदर नियन्त्रणका लागि नयाँ उपायको खोजी गर्नुपर्ने बताएकी छिन् । किसानहरु बाँदरबाट पीडित रहेको भन्दै परिवार नियोजन (फ्यामेली प्लानिङ) गरेरै भएपनि बाँदरको संख्या घटाउनतिर लाग्नुपर्ने तर्क दिएकी छिन् ।
‘बाँदरलाई त फ्यामेली प्लानिङ गरे हुने रहेछ । भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । उनीहरुको पनि हाम्रोमा जस्तै समस्या थियो रे, परिवार नियोजन गरेर दुई तिन बर्षमा नियन्त्रण भएछ ।’
बँदेलले अन्नबालीमा क्षति पुर्याएका भन्दै उनले बँदेल मारेर खाने नीति ल्याउनुपर्ने बताइन् । ‘कलिङको एउटा प्रिन्सिपल हामीले ल्याउनुपर्यो । बँदेल त खान्छ नी मान्छेले । त्यसकारण हामीले वन्यजन्तु विभागलाई केही चाँही गरेर ल्याउ भन्नुपर्यो । मान्छेले खानै नपाउने भएपछि समस्या भयो ।’
सिंहदरबारमा आइतबार बसेको समितिको बैठकमा सांसदहरुले बाँदर तथा बँदेलले अन्नबालीमा क्षति पुर्याएका कारण उत्पादन घटेको, किसान भोकमरीको सिकार हुने अवस्था रहेको भन्दै क्षतिपूर्ति दिलाउन समिति लाग्नुपर्ने बताएपछि सभापति राणाले बाँदर र बँदेल नियन्त्रणका लागि नयाँ उपायहरु खोजी गर्नुपर्ने बताएकी हुन् ।




