काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग (नागढुंगा–सिस्नेखोला) मा यात्रा गर्न आवश्यक पर्ने ‘एन–ट्याग ‘ अब सानिमा बैंकबाट सहजै लिन सकिने भएको छ। बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै देशभर फैलिएका आफ्ना शाखाहरूमार्फत यो सुविधा उपलब्ध गराएको जानकारी दिएको हो।
सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा विद्युतीय प्रणाली मार्फत टोल (शुल्क) संकलन गरिन्छ। सवारीसाधनको अगाडिको सिसामा टाँसिने आरएफआईडी प्रविधिमा आधारित एन–ट्यागलाई प्रवेश र निकास गेटमा जडान गरिएको मेसिनले स्वतः पहिचान गर्छ।
त्यसपछि ट्यागबाटै स्वतः रकम काटिएर गेट खुल्ने हुँदा यात्रुहरूले लाइनमा बस्नु नपर्ने र छिटो तथा झन्झटरहित यात्रा गर्न सक्ने बैंकले जनाएको छ।
सवारीधनीहरूले बैंकको जुनसुकै शाखामा गएर यो ट्याग लिन सक्नेछन्। ट्यागमा रकम सकिएपछि ई–सेवा, फोनपे हब तथा सानिमा बैंकको मोबाइल बैंकिङ सेवाबाट सजिलै रिचार्ज गर्न सकिने व्यवस्था मिलाइएको छ। यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र नभई देशभरका शाखामार्फत उपलब्ध गराइएकाले उपत्यकाबाहिरका सवारीधनीले पनि आफ्नै नजिकको शाखाबाट ट्याग जडान गर्न सक्नेछन्।




