काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै गएको कच्चा तेलको भाउ सन् २०२३ कै उच्च बिन्दुमा पुगेको छ ।
यो साता शुक्रबार बजार बन्द हुँदा डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ८५.५५ डलर कायम भएको छ । शुक्रबार एकै दिन २.३ प्रतिशतले मूल्य बढेको हो । त्यस्तै ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८८.५५ डलर कायम भएको छ भने मुर्बान तेलको ९०.६९ डलर पुगेको छ ।
अमेरिकाको इनर्जी इन्फर्मेसन प्रशासनका अनुसार एक सातामै अमेरिकाको तेल मौज्दात २.४ प्रतिशत (१ करोड ६ लाख ब्यारेल) घटेको छ ।
यसले गर्दा तेलको माग बढ्न गई मूल्य बढ्न गएको सो सञ्चारमाध्यमले जनाएको छ । त्यस्तै आगामी अक्टोबर महिनादेखि रुस तथा साउदी अरेबियाले कच्चा तेलको उत्पादनमा कटौती गर्ने तयारी गर्नुले पनि केही त्रास बढेको छ । रुसले यो साता तेल कटौतीबारेको निर्णय पारित गर्नेछ भने साउदीले दैनिक करिब १० लाख ब्यारेल कटौतीको तयारी गरेको छ । यसले मूल्यवृद्धि बढेको औंल्याइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जानुले आगामी दिनहरुमा नेपालमा मूल्यवृद्धि बढ्ने अनुमान छ । एजेन्सी




