काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्जरमा जाने भएका छन् । दुवै संस्थाबीच गत शुक्रबार मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने सहमति भएकोछ।
सम्झौतापत्रमा साधना लघुवित्तका तर्फबाट अध्यक्ष कृष्णबहादुर थापा र सबैको लघुवित्तका तर्फबाट अध्यक्ष नारायणप्रसाद जोशीले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार सञ्चालक समिति अध्यक्षमा हालको साधना लघुवित्तका अध्यक्ष थापा र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्तका केशवकुमार पौडेल रहनेछन्।
तनहुँ जिल्लाको बन्दीपुर-१ डुम्रेस्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था सबैको लघुवित्तको चुक्तापुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ।
गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. ६ हरमटारीस्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था साधनाको चुक्तापुँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ। मर्जरपछि संस्थाको चुक्तापुँजी ७० करोड रुपैयाँ माथि पुग्नेछ।
अर्थ सन्जाल