आजदेखि कार्यान्वयनमा आयो एमसीसी

काठमाडौं । नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ । नेपाल सरकार र एमसीसीबीच एमसीसी नेपाल कम्प्याक्टको पूर्वतयारी चरणमा यथेष्ट प्रगति भएको सहमतिपछि उक्त घोषणा गरिएको हो ।

अर्थमन्त्री डा. प्रकाश शरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष श्री क्यामेरोन अल्फोर्डले आज अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको सम्पस्थितिमा आयोजित एक विशेष समारोहमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गरे । यससँगै पाँच वर्षको समय तोकिएको एमसीसीका परियोजना कार्यान्वयनमा गएको छ ।

No description available.

सम्झौता भएको ६ वर्षपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो ।

नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसीसीसँग भएको सम्झौताको धारा ७ अनुसार आवश्यक पूर्वशर्तहरू पूरा भएको कुरामा एमसीसी सन्तुष्ट भएको अवस्था र सम्झौता लागू गर्न उसले नेपाल सरकारलाई प्रेषित गरेको पत्रका मितिदेखि यो लागू हुने व्यवस्था छ ।

उक्त अवसरमा अर्थमन्त्री डा. महतले भने, ‘राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषित विद्युत् प्रसारण आयोजना र नेपालको रणनैतिक सडक सञ्जालमा लगानी गर्ने सडक मर्मत आयोजनाको औपचारिक कार्यान्वयन शुभारम्भ भएको घोषणा गर्न पाउँदा खुसी लागेको छ ।’

No description available.

अर्थमन्त्री डा. महतले नेपालको आर्थिक विकासलाई सघाउने एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमका आयोजनाहरूले सडक स्तरोन्नति तथा भरपर्दो विद्युत् आपूर्तिमार्फत नेपाली जनतालाई लाभान्वित गर्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा सहभागी हुँदै नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले भने, ‘अमेरिका र नेपालबीच ७५ वर्षभन्दा बढी समयदेखि बलियो मैत्रीपूर्ण सम्बन्ध छ र हाम्रो मित्रताको एउटा उत्साहवर्द्धक कोशेढुङ्गा एमसीसी नेपाल कम्प्याक्ट हो । यसले दीर्घकालका लागि नेपालको समृद्धिलाई उकास्नेछ र विद्युत् तथा यातायातमा नेपाली जनताको पहुँचमा सुधार गर्नेछ । आज यस महत्वपूर्ण कोशेढुङ्गा घोषणा कार्यक्रममा सहभागी हुन पाउँदा निकै हर्षित छु र नेपालको आर्थिक विकासमा कम्प्याक्टले उल्लेख्य प्रभाव पार्ने अपेक्षा गर्दछु ।’

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *