प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १४ अर्ब, बाढीपीडितका लागि १ अर्ब मात्रै निकासा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम झण्डै साढे १४ अर्ब रुपैयाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहानसम्म कोषमा १४ अर्ब ४५ करोड ९८ लाख १० हजार १७८ रुपैयाँ जम्मा भएको छ।

कार्यालयका अनुसार विभिन्न नौवटा बैंकमा रहेको नेपाली रुपैयाँको खातामा १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ रुपैयाँ मौज्दात छ। त्यस्तै, कोषका दुईवटा बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ।

कोषमा जम्मा भएको रकममध्ये रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा भइसकेको छ।

सरकारले रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

निर्णयअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। चार जनाभन्दा बढी सदस्य रहेको परिवारका लागि थप प्रत्येक सदस्य बराबर २ हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराउने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *