

बुटवल । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अबको बाटो समाजवादी गणतन्त्र भएकाले यसका लागि बलियो शक्ति आवश्यक रहेको बताएका छन् ।
समाजवादी मोर्चा नेपालले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले त्यही बलियो शक्ति निर्माणका लागि समाजवादी मोर्चा बनाइएको पनि स्पष्ट गर्नुभयो ।
तत्कालीन नेकपा माओवादीले २०६२ सालमा चुनबाङ बैठकमा गरेका निर्णयको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले त्यतिबेला आफूहरुले अघि सारेका कतिपय प्रश्नको हल भईसकेको पनि बताए ।
उनले भने,‘हामीले त्यतिबेला भनेका थियौं, देशलाई संविधानसभाको चुनावमा जानबाट कसैले रोक्न सक्दैन । देश अब गणतन्त्रमा जान्छ र गणतान्त्रिक आन्दोलनको नेता कम्युनिष्ट पार्टी बन्छ । त्यतिबेलाको दस्तावेज पढ्नुभयो भने स्पष्ट लेखिएको छ तर त्यो गणतन्त्र हामीले भनेजस्तै श्रमिक जनताको हुन्छ वा दलाल नोकरशाहको गणतन्त्र हुन्छ, त्यो गणतन्त्र आउनेबित्तिकै फैसला हुने छैन ।’
अहिले गणतन्त्र जनताको बनाउने वा वुजुवाको भन्ने लडाइँ जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘यही फैसला गर्नका लागि समाजवादी मोर्चा बनाइएको हो । प्रतिक्रियावादीहरुले सके गणतन्त्र नै समाप्त गर्ने र नसके यसलाई फाँसीवादी गणतन्त्रमा रुपान्तण गर्ने प्रयासमा छन् तर हामी भने अब जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रुपान्तरण गर्न चाहन्छौं । अहिलेको लडाइँ यही नै हो । यो लडाइँमा हामीले विशाल शक्ति सञ्चय गर्नैपर्छ, त्यसकै लागि यो मोर्चाको आवश्यकता परेको हो ।’
अहिले प्रतिक्रियावादीहरुले जातीय, धार्मिक सद्भाव भड्काएर वा जे गर्न सकिन्छ गरेर भए पनि परिवर्तन उल्ट्याउन चाहेको उल्लेख गर्दै उहाँले यही प्रतिक्रान्तिकारी संकटबाट बिचबाट समाजवादी क्रान्तिलाई अघि बढाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे । ‘अहिले प्रतिक्रियावादीहरुलाई गाउँका श्रमिक जनताका छोराछोरी आएर सरकार चलाएको पाच्य भएको छैन, उनीहरु कुनै पनि शर्तमा परिवर्तन उल्ट्याउन चाहन्छन्छ ’, उनले भने, ‘संविधानको अंग बनिसकेको शान्ति सम्झौतालाई लत्यार मुद्दा चलाउँदै शान्ति प्रतिक्रिया बिथाल्न चाहन्छन् तर हामी भने निरन्तर अघि बढ्नुपर्छ ।’
समाजवादी मोर्चा सरकार, सदन र सडकबाट एकैसाथ अघि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रक्रियावादीहरु परिवर्तनविरुद्ध लागिरहे भने लाखौं जनतालाई समाजवादमा प्रशिक्षित गरेर अघि बढ्नुपर्ने बताए । क्रान्तिकारीहरु विभाजित हुँदा क्रान्तिको अपमान गर्नेहरु हावी हुन खोजेको उल्लेख गर्दै उनले क्रान्तिकारीहरुबिच वाद र विवादको चरण समाप्त भएर संवादको चरण सुरु भएकाले अब समाजवादी आन्दोलनका लागि क्रान्तिकारीहरु पुनः एक भएर अघि बढ्ने बताए ।
त्यस्तै,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीति, आर्थिक, सामाजिक र सास्कृतिक परिवर्तनका लागि मोर्चा आवश्यक परेको बताए । अध्यक्ष नेपालले दलाल पूजीवादले सिर्जना गरेका सबै खालका विभेदको अन्त्य गरी नेपाली बिशेषतासहितको समाजवाद स्थापना गर्न मोर्चाले अगुवाई गर्ने बताए ।
सरकार, सदन र सडकको मोर्चामार्फत एकैसाथ अघि बढ्ने मोर्चामा सहमति भएको उल्लेख गर्दै जनताका पीडा र भावनाको अगुवाई गर्ने उनको भनाइ थियो । एमसीसीलाई हिन्द महासागरीय रणनीतिअन्तर्गत स्वीकार गर्न नसकिने उल्लेख गर्दै उनले संसदले पारित गरेको ब्याख्यामक टिप्पणी स्वीकार नगरिए त्यसमा जान नसकिने स्पष्ट पारे ।
त्यसैगरी नेकपाका महासचिव विप्लव सीले अब एउटा पार्टीले मात्रै लडेर जनताको विजय प्राप्त गर्न सम्भव नभएकाले मोर्चाको अवधारणा अघि सारिएको बताए । हजारौं वर्षदेखि जरा गाडेर बसेको सामन्तवादको अन्त्य गरी पूजीवादी क्रान्ति सम्पन्न गरे पनि अब समाजवादी क्रान्तिका लागि मोर्चा आवश्यक परेको उनको भनाई छ ।
नेपालमा दलाल पूजीवादको अन्त्य गरी जनताको समाजवाद स्थापना गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले भन्दै आएको बैज्ञानिक समाजवाद अहिले सम्भव नभए पनि नेपाली बिशेषतासहितको समाजवाद मोर्चाको साझा विन्दु भएको उल्लेख गरे ।
मोर्चा बनाउन प्रधानमन्त्री प्रचण्डले ठूलो जोखिम मोलेको उल्लेख गर्दै बिप्लवले जनताको एकता मन नपराउने तत्वहरु बढारिएर जाने बताउनुभयो । मोर्चा सम्बद्ध दलहरु समस्यारहित नभए पनि अहिले नेपालमा सबैभन्दा अग्रगामी शक्ति समाजवादी मोर्चा रहेको बताउनुभयो । नेपाल स्वाधीन बन्दै गएको उल्लेख गर्दै उनले यो बिदेशीहरुलाइ मन नपरेको बताए ।
महासचिव विप्लवले प्रधानमन्त्री प्रचण्डलाई सरकारबाट लड्न आग्रह गर्दै जनताको लागि आफूहरु सडकबाट साथ दिन तयार रहेको बताउनुभयो । सरकारले सुशासनको पक्षमा गरेका काममाथि प्रहार गर्न थालिएको उल्लेख गर्दै उनले सरकारले गरेका कामको बिरोध गर्नेहरु परिवर्तन बिरोधी भएको बताए ।
जसपाका नेता राजकिशोर यादवले समाजवादी क्रान्तिको लागि मोर्चा बनाइएको बताए । उनले अब आर्थिक सामाजिक रुपान्तरणको माध्यमबाट समाजवादी क्रान्ति गर्नुपर्ने उल्लेख गर्दै त्यसको अगुवाई गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । अहिलेको सरकारलाई जनताले वाहवाही गरिरहेको उल्लेख गर्दै उहाँले बलिदानीपूर्ण क्रान्तिको सपना पूरा गर्नुपर्ने बेला आएको बताए ।
मोर्चाको प्रदेश समन्वय समिति घोषणा समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समिति घोषणा गरेको छ । जसमा मोर्चा सम्बद्ध दलबाट तीन तीन जना नेता रहेका छन् ।
जसमा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी, एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी, जसपाबाट नवीनकुमार सुनुवार, मणिकर कार्की र अशोक यावद तथा नेकपाको तर्फबाट वसन्त सी, नारायण सी र सम्झना सी रहनुभएको छ । समितिको अध्यक्ष चार महिनाका लागि नेकपाले गर्नेछ ।

अर्थ सन्जाल