काठमाडौं । एसिया कपको १६औं संस्करण बुधबारबाट सुरु हुँदैछ । एसिया कपमा नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक सहभागीता जनाउँदै छ ।
नेपालले उद्घाटन खेलमै एकदिवसीय वरियताकाे नम्बर एक टिम पाकिस्तानसँग मुल्तान क्रिकेट रंगशालमा खेल्दैछ । नेपाली समयअनुसार नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः १५ बजे सुरु हुँदै छ ।
एसिया कप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगितामा जमेर खेल्न सक्ने ६ देशका ६ खेलाडीको सूची सार्वजनिक गरेको छ । नेपालबाट १७ वर्षीय किशोर गुल्सन झा जम्न सक्ने आँकलन आईसीसीको छ ।
अलराउन्डर गुल्सनले पछिल्लो समय लगातार ब्याटबाट पनि जादुमयी प्रदर्शन गर्दै आएका छन् । उनी आईसीसीको एक दिवसीय अलराउन्डरको विश्व वरियतामा १०५औं स्थानमा छन् । उनले २२ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतकसहित ४५२ रन बनाएका छन् । उनको ब्याटिङ औसत ३४.७६ रहेको छ । गुल्सनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २१ विकेट पनि लिएका छन् ।
आईसीसीले पाकिस्तानका बाबर आजम, भारतका जसप्रित बुमराह, बंगलादेशका तास्किन अहमद, अफगानिस्तानका रसिद खान र श्रीलंकाका माहिस थिकसानालाई एसिया कपमा जम्न सक्ने खेलाडीको सूचीमा समावेश गरेको छ ।







