१ करोडभन्दा माथिको शेयर धितो कर्जामा लगानीकर्ताको आकर्षण, २०.७ प्रतिशतले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जामा ठूला कर्जाको माग बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा २०.७ प्रतिशतले बढेको हो।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कुल १ खर्ब ६६ अर्ब ५० करोड ७९ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ थियो। एक वर्षमा शेयर धितो कर्जा २५ अर्ब ८० करोड ५८ लाख रुपैयाँले बढेको हो।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा १ करोड रुपैयाँभन्दा माथिको श्रेणीमा मात्रै १ खर्ब १९ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष यस श्रेणीमा ९८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।

यसैगरी ५० लाख रुपैयाँभन्दा माथि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा १९ अर्ब १५ करोड ३९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा १६ अर्ब २ करोड ९७ लाख रुपैयाँ थियो। यस श्रेणीमा कर्जा प्रवाह १९.५ प्रतिशतले बढेको छ।

२५ लाखदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा १८ अर्ब ८५ करोड ४९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको १७ अर्ब ५६ करोड ६१ लाख रुपैयाँको तुलनामा यो ७.३ प्रतिशतले बढी हो।

त्यस्तै, २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जा ९ अर्ब ४ करोड ४४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ थियो। यस श्रेणीमा कर्जा प्रवाह १०.६ प्रतिशतले बढेको छ।

कुल शेयर धितो कर्जामध्ये १ करोड रुपैयाँभन्दा माथिको कर्जाको हिस्सा सबैभन्दा ठूलो देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *