काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक बढेको भन्दै सजकता अपनाउन आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना प्रकाशित गरी होसियार भइ चेक जारी गर्न र गैरकानुनी लेनदेन नगर्न आग्रह गरेको हो ।
चेकको दुरुपयोग अत्याधिक बढेको र त्यसका कारण चेक जारी गर्ने व्यक्ति तथा संस्था कालोसूचीमा पर्ने घटना पनि बढेर गएको राष्ट्र बैंकले जनाएको छ।
‘चेकमार्फत भुक्तानी गर्दा आफ्नो दायित्व प्रस्ट भएपछि खातामा मौज्दात रहेको रकमको मात्र चेक जारी गर्नुपर्दछ’, राष्ट्र बैंकले भनेको छ ‘खातामा नभएको रकमको चेक जारी गर्ने, भविष्यमा प्राप्त हुन्छ भन्ने आधारमा चेक जारी गर्ने, तमसुक वा धरौटीका रुपमा चेकलाई प्रयोग गरी अवैधानिक लेनदेन गर्ने, खाली चेकमा हस्ताक्षर गरिदिनेजस्ता नियतवश गरेको गलत कार्यले चेक जारी गर्ने व्यक्ति कालोसूचीमा पर्दछ र कानुनबमोजिमको सजायसमेत हुन्छ।’
बैंक तथा वित्तीय संस्थामा रहेको रकमको कारोबारका लागि चेक भरपर्दो माध्यम हो। विनिमेय अधिकारपत्र ऐन, २०३४ (पछिल्लो संशोधन २०७५) तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (पछिल्लो संशोधन २०७४)ले यसलाई माग्नासाथ भुक्तानी दिनु भनी कुनै बैंकउपर खिचिएको विनिमेयपत्रका रुपमा व्याख्या गरेको छ।








