भिजन लुम्बिनी ऊर्जा कम्पनीले भदौ १९ गतेदेखि आईपीओ निष्कासन गर्दै

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। उक्त आइपिओमा कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं. १९ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ९१ हजार २५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो। कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकममा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले १९ हजार १२० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त आइपिओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि बिक्री अवधि असोज १७ गतेसम्म लम्बिनेछ। कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आइआरएन डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

स्थानीय बासिन्दाले आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आस्बा प्रणालीमार्फत् पनि आवेदन दिन सकिनेछन।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरोसेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *