

काठमाडौं। नेपाल जग्गा तथा आवास विकास महासंघले सातै प्रदेशका घरजग्गा व्यवसायीलाई समेटेर रियल स्टेट कम्पनी खोल्ने भएको छ । महासंघले रियल स्टेट क्षेत्रका व्यवसायीको लगानीमा हालसम्मकै ठूलो हाउजिङ कम्पनी स्थापना प्रक्रिया अगाडि बढाएको हो ।
सबैभन्दा ठूलो अर्थात् ५० अर्ब चुक्तापूँजी भएको पब्लिक लिमीटेड कम्पनी स्थापना गर्न महासंघ जुटेको छ ।
संघमा आवद्ध व्यवसायीका साथै सर्वसाधारणलाई सेयर जारी गरेर पुँजी जुटाइने महासंघका अध्यक्ष भेष राज लोहनीले बताए ।
यो कम्पनीमा संस्थापकहरुको तर्फबाट ५१ प्रतिशत लगानी रहनेछ भने बाँकी ४९ प्रतिशत लगानी सर्वसाधारणको हुनेछ । यद्यपि संस्थापकबाट यो विषयमा भने यकिन भइनसकेको उनले बताए ।
उनी भन्छन्, ‘संस्थापक र सर्वसाधारणबाट कति सेयर राख्ने भन्ने टुंगो लागिसकेको छैन । ५१ प्रतिशत र ४९ प्रतिशत पनि हुन सक्छ । ६० प्रतिशत र ४ प्रतिशत पनि हुन सक्छ ।’
संस्थापकबाट ५१ प्रतिशत लगानी भएमा सर्वसाधारणमा २५.५ अर्बको प्राथमिक सेयर (आईपीओ) जारी हुनेछ । संस्थापक समूहबाट ६० प्रतिशत लगानी भएमा सर्वसाधारणमा २४ अर्बको आईपीओ जारी हुनेछ । यो सर्वसाधारणलाई जारी गरिने हालसम्मकै ठूलो सेयर हुनेछ ।
अहिले सानामात्र परियोजना भएकाले ठूला परियोजनामा पनि लगानी गर्न सक्ने गरी कम्पनी खडा गर्न लागिएको अध्यक्ष लोहनीले बताए । ठूलो लगानीसहित स्थापना हुने कम्पनीले हाल समस्याबाट गुज्रिरहेका घरजग्गा व्यवसायीहरुको समेत उद्धार उद्देश्य रहेको उनको भनाइ छ ।
प्रविधिलाई प्रयोग गरेर ठूलो कम्पनीको स्थापना गरी विदेशी बैंकबाट समेत कर्जा जुटाउने उद्देश्य रहेको उनले सुनाए ।

अर्थ सन्जाल