काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आयात घटेको छ । गत आर्थिक वर्ष साउनको तुलनामा यो साउनमा आयात १.५६ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्ष सोही अवधिमा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ।
गत आर्थिक वर्षको साउनमा १ खर्ब ३१ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
आयातसँगै निर्यात पनि यस अवधिमा ८.५६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको यसै अविधमा १३ अर्ब ५२ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ। गत आर्थिक वर्षको पहिलो महिनामा निर्यात १४ अर्ब ८१ करोड भएको थियो ।
यस अवधिमा व्यापार घाटा ०.६६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष वस्तु व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड रहेकोमा चालु आर्थिक वर्षको साउनमा १ खर्ब १५ अर्ब ७१ करोड कायम भएको छ।




