अध्ययनका लागि विदेशिनेको संख्या बढ्यो, अष्ट्रेलिया जाने विद्यार्थीको संख्या धेरै

प्रतिभासँगै वर्षेनी अर्बौं पुँजी पलायन

काठमाडौं । पछिल्लो केही वर्षयता उच्च शिक्षाका लागि विदेश पलायन हुनेको संख्या बढ्दै गइरहेको छ । वैदेशिक अध्ययनसँगै प्रतिभा समेत पलायन भइरहेको छ । देशमा रोजगारी अभाव, पाए पनि पारिश्रमिक कम पाइने, उच्च शिक्षा हासिल गरिसक्दा पनि रोजगारी नपाइने लगायत समस्याका कारण पनि अध्ययनका लागि बाहिरिने विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । ऊर्जाशील, उत्पादनशील र प्रतिभावान् विद्यार्थीको पलायनसँगै हुने पुँजी पलायन देशको लागि दीर्घकालीन चिन्ताको विषय बनेको छ ।

विप्रेषणको सीमित स्रोतबाट आर्जित अर्बौं रुपैयाँबराबरको विदेशी मुद्रा शिक्षाको नाममा विदेशिने गरको छ । नेपालबाट हरक वर्ष कति विद्यार्थी अध्ययनका लागि विदेशिए भन्ने यकिन तथ्याङ्क त राज्यसँग छैन । तथापि, वैदेशिक अध्ययनका निम्ति विद्यार्थीले लिएका अनुमतिपत्र (No Objection Certificate-NOC) आधारमा विदेशिएका विद्यार्थीको आँकडाबारे अनुमान गर्न सकिन्छ ।

शिक्षा मन्त्रालयले जारी गरको अनुमतिपत्रलाई वैदेशिक अध्ययनमगएका विद्यार्थीको सङ्ख्या मान्ने हो भने पछिल्लो १० वर्षमा पाँच लाख ४३ हजारभन्दा बढी विद्यार्थी वैदेशिक अध्ययनका लागि गएको देखिन्छ । आ.व. २०७०/७१ मा वैदेशिक अध्ययनमा जाने विद्यार्थीको सङ्ख्या करिब २८ हजार रहेकोमा २०७९/८० मा एक लाख १० हजारभन्दा बढी विद्यार्थी अध्ययनका नाममा विदेशिएका छन्।

विगत १० वर्षमा वैदेशिक अध्ययनको नाममा विद्यार्थी विदेशिने औसत दर ३२ प्रतिशत रहेको छ भने सोही दरमा विदेशी मुद्रासमेत बढ्दो दरमा विदेशिने गरको छ । आ.व. २०७०/७१ मा वैदेशिक अध्ययनबापत कुल रु.१५ अर्बबराबरको विदेशी मुद्रा बाहिरिएकोमा २०७९/८० मा रु.१०० अर्ब बाहिरिएको छ । पछिल्लो एक दशकमा वैदेशिक अध्ययनका लागि मात्र रु.३९० अर्ब रकम विदेशिएको छ ।

अध्ययनको लागि जाने विद्यार्थीले लैजाने राहदानीबापतको सटही सुविधासमेत गणना गर्ने हो भने आ.व. २०७९/८० मा मात्रै करिब रु.११५ अर्ब र विगत १० वर्षमा रु.४५३ अर्ब अर्थात् करिब चार अर्ब अमेरिकी डलर (विगत दश वर्षको अमेरिकी डलर र नेपाली रुपैयाँको वार्षिक औसत विनिमय दरको आधारमा) विदेशी मुद्रा विद्यार्थीले आफूसँगै विदेश लगेको देखिन्छ ।

अध्ययनार्थ विदेशिएका विद्यार्थीकादेशगत तथ्याङ्कलाई केलाउँदा अति विकसित देशहरू जस्तैः अष्ट्रेलिया, जापान, क्यानडा, अमेरिका र युरोपलगायतका मुलुकमा गएका विद्यार्थीको सङ्ख्या बढी छ ।

रोजगारी, गुणस्तरीय जीवनको सुनिश्चितता तथा सामाजिक सुरक्षालगायतका आकर्षणका कारण ती देशमा गएका विद्यार्थी अन्ततः सोही देशको स्थायी बासिन्दामा परिणत हुँदै गएका छन्। विद्यार्थीले उच्च शिक्षा पूरा गरपछि राम्रो रोजगारीको सुनिश्चिततासँगै स्थायी बसोबास अनुमति र विस्तार नागरिकतासमेत प्राप्त हुने भएकाले पनि ती देशतर्फ विद्यार्थीको आकर्षण बढ्दो छ ।

आ.व. ०७९/८० मा विदेशिएका कुल विद्यार्थीमध्ये सबैभन्दा बढी अष्ट्रेलियामा ३०.८ प्रतिशत, जापानमा १९.७ प्रतिशत, क्यानडामा १९.५ प्रतिशत, बेलायतमा ९.६ प्रतिशत र अमेरिकामा ३.६ प्रतिशत विद्यार्थी अध्ययनका नाममा गएका छन्।

त्यस्तै, सोही वर्ष सर्वाधिक रोजाइका पाँच देशमा ८३ प्रतिशत र १० देशमा ९३ विद्यार्थी प्रतिशत विद्यार्थी गएको देखिन्छ ।

नेपाल राष्ट्र बैंक समाचारको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *