काठमाडौं । मलेसियामा आज (मंगलबार)बाट सुरु हुने चार देशीय महिला टी– २० आई सिरिजमा नेपालले हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेल्न लागेका हुन् । नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ । यदी नेपाल शीर्ष दुईमा रहन सके फाइनल २६ अगष्टमा खेल्नेछ ।
पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि सोही दिन खेल्नेछन् । नेपाल २८ अगष्टमा थाईल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् ।
समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन् ।




