

चितवन। भरतपुर महानगरपालिकाले महानगरभित्र रहेर उद्योग गर्न चाहना राख्ने महिला उद्यमीहरूलाई प्रविधिजन्य सामग्री हस्तान्तरण गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सात वटा समूहलाई आठ थरीका सामग्री महानगर प्रमुख रेनु दाहालले आज एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।
कुखुरालाई दानापानी दिने भाँडा दुई सय ५० थान, केराको सुप्लाबाट रेसा निकाल्ने मेसिन मोटरसहित एक थान, मिक्स्चर दुई थान, भट्टी चुलो दुई थान, स्प्रे ट्याङ्की नौ थान र दुई सय लिटरको ट्याङ्की नौ थान हस्तान्तरण गरिएको हो । यस्तै, लुगा सिलाउने मेसिन दुई थान, इन्टरलक मेसिन चार थान हस्तान्तरण गरिएको हो । महानगरले मागमा आधारित तालिम सञ्चालन गरी सोहीअनुसार सामग्री प्रमुख दाहालले समूहका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेभएका हुन् ।
सामग्री हस्तान्तरणपछि महानगर प्रमुख दाहालले महानगरले दक्ष जनशक्ति उत्पादन गरी स्वावलम्बी बनाउने योजनासहित कार्यक्रम गर्दै आएको बताए । उद्यमी बन्न चाहनेहरूका लागि महानगरले सहयोग गर्ने उनले बताए । उनले भने, “महिलाहरू आत्मनिर्भर भए घर सञ्चालनमा सहज हुने भएकाले दक्षता बढाउनुपर्ने छ ।” महिलाहरू उद्यमी बन्न आवश्यक रहेको उनको भनाइ थियो ।
महानगरको सामाजिक विकास महाशाखाले गत आर्थिक वर्षमा ९० जनालाई मागमा आधारित तालिम दिएको थियो । चारवटा वडाका सात वटा समूहलाई रु तीन लाख ९६ हजार बराबरको सामान हस्तान्तरण गरिएको हो । चालु आर्थिक वर्षमा समेत यस कार्यक्रमलाई निरन्तरता दिइने भरतपुर महानगरपालिकाको सामाजिक विकास महाशाखाकी प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिए ।

अर्थ सन्जाल