प्याजको मूल्यमा चरम कालोबजारी, एकैदिन २८ प्रतिशतले बढ्यो मूल्य

काठमाडौं । भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएसँगै नेपाली बजारमा प्याजको मूल्यमा कालोबजारी सुरु भएको छ । नेपालमा प्याजको मूल्य एकैदिन २८ प्रतिशतसम्मले बढेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार सुकेको प्याज (भारतीय)को प्रतिकिलो औसत मूल्य ६१ रुपैयाँ थियो । आज २७.८७ प्रतिशतले बढेर प्रतिकिलो औसत मूल्य ७८ रुपैयाँ पुगेको छ ।

त्यस्तै, हरियो प्याजको मूल्यमा ४१.४६ प्रतिशतको वृद्धि देखिएको छ । आइतबार हरियो प्याजको १३६.६७ रुपैयाँ प्रतिकेजी मूल्यमा थियो । सोमबार भने हरियो प्याज प्रतिकेजी १९३.३३ रुपैयाँ पुगेको छ ।

प्याजका लागि नेपाल भारतमाथि नै निर्भर छ । त्यसैले पनि भारतको निर्णयको प्रभाव देखिएको हो ।

भारत सरकारले घरेलु बजारमा प्याजको अभाव हुन नदिन र भाउ नियन्त्रण गर्न निर्यात शुल्क लगाउने निर्णय गरेको थियो । त्यसैको फाइदा उठाउँदै व्यापारीहरुले कृतिम अभाव सिर्जना कालोबजारी सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *