सीमामै लुटिए २ नेपाली, भन्छन्, ‘पेय पदार्थ खुवाएर बेहोस बनाए, होस खुल्दा हस्पिटलमा थियौँ’

काठमाडौं । सुदूरपश्चिमका अधिकाशं नेपालीहरु कामको सिलसिलामा भारत पुग्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका अधिकांश नेपालीहरु परिवारको पेट पाल्नकै लागि भारत जाने गरेका छन् । भारतमा जेनतेन काम पाइने र थोरै भएपनि कमाइ हुने भएपछि अधिकाशं मानिसहरु भारत लाग्ने गरेका छन् ।

तर भारतमा गएर कमाएर ल्याएको पैसा भने बाटोमै लुटिने गरेको छ । नेपाल भारत सीमा नाकामा हुने चोरीको कुनै हिसाबै छैन । ३ महिनाअघि कामको खोजीमा भारत उत्तराखण्डको कुरीद्वार पुगेका २ नेपाली लुटिएका छन् । अछाम ढकारी गाउँपालिका-१ का टिका बुढा र उनका छोरा जनक बुढा शनिबार घर फर्किंदै थिए । उनीहरु नेपाल नआइपुग्दै सीमामा लुटिएका हुन् ।

टिका बुढा र उनका छोरा जनक बुढा कुरीद्वारबाट बिहानै घर निस्किएका थिए । तर घर नपुग्दै आधा बाटोमै लुटिन पुगे । उनीहरुलाई पेय पदार्थमा बेहोस हुने औषधी खुवाएर लुटपाट गरिएको थियो ।

आफुहरु पनि नेपाली भएको र घर कैलाली भएको बताउने ३ व्यक्ति उनीहरु सवार बस चढेका थिए । नेपाली नै भएको भनेपछि उनीहरु पनि खुलेरै कुरा गरे । उनीहरु बिहान ३ बजे कञ्चनपुरको गड्डाचौकी सीमापारी बनबासा नाका आइपुगे । बनबासा पुगेर ती व्यक्तिहरुसँगै चियानास्ता गरे ।

त्यसपछि उनीहरु नेपालतर्फ अगाडि बढे । सीमानाको गेट १० नबजी नखुल्ने भएपछि ती व्यक्तिहरुले बनबासाबाट गढाचौकी पैदल हिडेर जान प्रस्ताव गरे । बसमै चिनजान गरिसकेका मान्छेहरुसँग हिड्न उनीहरु पनि हिच्किचाएनन् । बनबासाबाट यात्रा सुरु गर्दा बिहानको ४ बजिसकेको थियो ।

बिस्तारै अघि बढ्दै गरेका बाबुछोरालाई ती व्यक्तिहरुले चिसो पेय पदार्थ खाने प्रस्ताव गरे । हिडेको भएर गर्मी पनि थियो । प्रस्ताव इन्कार गरेनन् । ३ जनामध्ये एक जनाले पेय पदार्थ किनेर ल्याए । टिका र उनका छोरा जनक दुवै जनाले पालैपालो पिए । त्यसपछि उनीहरुको होस् नै उड्यो । जनक भन्छन्, ‘चिसो किनेर दिए । हामीले पनि खायौँ । त्यसपछि आँखा वरिपरि अँध्यारो भयो, केही थाहा भएन । होस आउँदा हस्पिटलमा थियौं । हामीसँग भएको नगद, टिका बुढा र उनका छोरा जनक बुढासँग ५६००० हजार  रुपैयाँ र मोबाइल र कपडासमेत सबै चोरी भएछ । ३ महिनाको कमाइ पनि रहेन ।’

बाटोमै ढलेको अवस्थामा उनीहरुलाई प्रहरीले उद्दार गरी अस्पताल पुर्याएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *