काठमाडौं । कोशी प्रदेशसका राप्रपा सांसदहरूलाई विश्वासको मत दिन मन्त्री र करोडौं रुपैयाँको अफर गरिएको खुलासा भएको छ । कांग्रेस कोशीको नेतासमेत रहेका मुख्यमन्त्री उद्धव थापाले ४ गते सोमबार विश्वासको मत लिने तयारी गरेका छन् ।
त्यसअघि प्रदेशसभाका राप्रपा सांसदहरुलाई विश्वासको मतका लागि मन्त्री र १० करोड रुपैयाँको अफर गरिएको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले खुलासा गरेका हुन् । उनले आधिकारिक फेसबुक पेज र ट्वीटरमार्फत प्रदेशसभा सदस्यलाई मन्त्री र १० करोड रुपैयाँको प्रस्ताव गरेको दाबी गरेका छन् ।
अध्यक्ष लिङदेनले कुन पार्टीका सांसदलाई भनेर उल्लेख नगरे पनि राप्रपाका सांसदलाई मन्त्री बनाइदिने वा १० करोड रुपैयाँ दिने प्रस्ताव आएको निकट स्रोतले जनाएको छ । राप्रपाले मुख्यमन्त्री थापालाई विश्वासको मत नदिने भएपछि सांसद खरिद गर्न खोजिएकाले सांकेतिक रुपमा उनले यो खुलासा गरेको जनाइएको छ ।
४७ सिटकाे बहुमत भएपनि सहज बहुमतका लागि राप्रपालाई सहकार्यमा ल्याउने प्रयास सत्ता गठबन्धनकाे छ । तर राप्रपाले कोशीमा सत्ता साझेदारी नगर्ने भन्दै विश्वासको मत नदिने बताइसकेको छ ।






