काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन वटा सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्षलाई स्पष्टिकरण सोधेका छन् ।
अर्थमन्त्री मन्त्रालयमै बोलाएर तीन वटै बैंकका सीईओ र अध्यक्षलाई ब्याजदर बढाउनुको कारण सोधेका हुन् ।
कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ, अध्यक्ष रामशरण पुडासैनी, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र अध्यक्ष बलराम पाठक, नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी र अध्यक्ष ज्ञानप्रसाद ज्ञवालीलाई अर्थमन्त्रीले शुक्रबार मन्त्रालयमै बोलाएका हुन् ।
सरकारी बैंकले नै सरकारको ब्याजदर घटाउने नीतिलाई असफल बनाउन खोजेको भन्दै अर्थमन्त्रीले स्पष्टीकरण सोधेका हुन् ।
बैंकहरुले बिहीबार भदौको लागि ब्याजदर बढाएको सूचना प्रकाशित गरेका थिए । नेपाल बैंकले साउनको तुलनामा भदौमा करिब २ प्रतिशतले ब्याजदर बढाएको थियो । नेपाल बैंकले मुद्दती निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत पुर्याएको छ ।
यस्तै कृषि विकास बैंकले पनि सोही ब्याजदर निर्धारण गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले भने १ प्रतिशत ब्याजदर बढाएर ९.९९० प्रतिशत पुर्याएको थियो ।




