

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा पुँजीबजारमा ७ अर्ब ३९ करोड कित्ता सेयर थपिएको छ । नेपाल स्टक एक्सचेन्जले ७ खर्ब २८ अर्ब ९५ करोड रुपैयाँ बराबरको उक्त सेयर सूचीकरण गराएको हो ।
आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ७९ अर्ब ८८ करोड रुपैयाँ बराबरको साधारण सेयर, १ खर्ब ५ अर्ब बराबरको विकास ऋणपत्र, ४० अर्ब ५९ करोड रुपैयाँ बराबरको बोनस सेयर, ३५ अर्ब ५९ करोड रुपैयाँ बराबरको डिबेन्चर, ७ अर्ब १४ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ४ अर्ब १३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ करोड ७९ लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल ३ खर्ब ७२ अर्ब ३८ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्मनेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्।
२०७९ असार मसान्तसम्म सूचीकृत कम्पनीहरूको संख्या २३४ रहेको थियो । एक वर्षको अवधिमा धितोपत्र बजारमा थप २० कम्पनी थपिएका छन् ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १३.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा ३.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.४ प्रतिशत रहेको छ ।
यस अवधिमा नेपाल धितोपत्र बोर्डले २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण सेयर, १६ अर्ब १५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ११ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर गरी कुल ६६ अर्ब ११ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

अर्थ सन्जाल