विदेशी मुद्राको सञ्चिति २६.६ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्म विदेशी मुद्राको सञ्चिति २६.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल ११.७ महिनालाई वस्तुको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको छ।

असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो असर मसान्तमा विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई रु.१९३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७९–८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *