अन्य सेवा प्रदायकले हाम्रो पूर्वाधारमा क्षति पुर्‍याए : नेपाल टेलिकम

काठमाडौं । विगत केही समय यता आफ्ना पूर्वाधारहरूमा क्षति पुर्‍याउने कार्य निरन्तर रूपमा जारी रहेको नेपाल टेलिकमले जनाएको छ ।

रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्‍याइएको कम्पनीले जनाएको हो ।

नेपाल टेलिकमको टावरदेखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएका कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तारसमेत काटी क्षति पुर्याइएको कम्पनीले जनाएको छ ।

सोही सन्दर्भमा नेपाल टेलिकमका प्राविधिकले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेकोमा गाउँपालिकाको रोहवरमा दुवै पक्षबीच छलफल गरिएको थियो ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएमलगायत दुवै पक्षबीचमा गत शुक्रबार भएको छलफलमार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता कार्य नदोहोर्याउने सहमति भएको कम्पनीले जनाएको छ ।

भविष्यमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइनेसमेत कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *