काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले आज साउन २९ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले स्थानीयका लागि जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ५ प्रतिशत अर्थात् १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको हो ।
उक्त आईपीओमा उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीयले खरिद आवेदन दिन सक्नेछन् । स्थानीयाले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
यता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अंकित मूल्य १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँका दरले १० लाख ७६ हजार २६८ कित्ता सेयर बिक्री खुला गरेको छ । उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
स्थानीयले छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले भदौ ११ गतेभित्र आवेदन दिनुपर्नेछ ।
स्थानीयले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, कुमारी बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका स्थानीय शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।
सोनापुर मिनरल्सको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।






