मुस्ताङ । मुस्ताङको कागबेनीमा बाढीले पक्की पुल र प्रहरीचौकीसहित दश वटा घर बगाएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४ स्थित कागखोलामा आइतबार राति आएको बाढीले दश वटा घर, निर्माणाधीन पक्की पुल, सडकलगायत संरचना बगाएको मुस्ताङका प्रमुख जिल्ला प्रहरीले जनाएको छ।
बाढीले प्रहरी चौकी, विद्यालय, गुम्बा, पाटीलगायत संरचनामा पनि क्षति पुर्याएको पनि बताइएको छ। कागखोलामा मिसिने खहरे खोलाहरु थुनिएका कारण आएको बाढीबाट ठूलो क्षति भएको खबर आएको र सुरक्षाकर्मीहरुसहितको टोली अहिले घटनास्थलतर्फ गईरहेको प्रहरीले जनाएको छ।
बाढीले केही विद्युतका पोलहरु समेत बगाएको छ । राति अचानक बाढी आएपछि मानिसहरु भागगाग गरेका थिए। बाढीले घरहरु बगाउँदा कालिगण्डकी आंशिक रूपमा थुनिएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।
कागबेनीको पक्की पुल बगेपछि माथिल्लो मुस्ताङतर्फको यातायात अवरुद्ध भएको छ।
मनसुनमा पनि पानी नपर्ने छायाँवृष्टि भएको मुस्ताङमा दुई दिनदेखि लगातार झरी परेपछि मुक्तिनाथदेखि केही तल झोङको पहिरो कागखोलामा मिसिएपछि बाढी आएको हो ।






