भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरे । भन्सार बिभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले भने, ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’

हाम्रा आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पारे । उनले भने, ‘मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ ।’ उनी भन्छन्, ‘राम्रो काम गर्ने कर्मचारी साथीहरु पनि हुनुहुन्छ । यी साथीहरुलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्नु हुँदैन ।’ कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्यांकन गर्नुपर्ने मन्त्री डा. महतको भनाइ छ ।

प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा. महतले स्पष्ट पारे । वीरगन्ज भन्सारको उदाहरण दिँदै मन्त्री डा. महतले भन्नुभयो, त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौ त्यत्तिकै थन्काइए राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो । अब त्यसरी हुँदैन । अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।’

इमान्दार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने मन्त्री डा. महतले बताए । ‘लक्ष्यमा पुग्नै पर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुख दिएर काम गर्नुपर्छ भनिएको छैन’ मन्त्री डा. महतले भने, ‘कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौं ।’

साउनमा लक्ष्य ८० प्रतिशत पुग्यो भनिएको छ । गत वर्ष ६० प्रतिशत उठ्यो । हामीले अझ इमान्दार भएर काम गरियो भने सय प्रतिशत नै लक्ष्यमा पुग्न सकिने मन्त्री डा. महतले बताए ।

अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ । लक्ष्यभन्दा बढी पनि हामीले भन्सार राजस्व उठाउन सक्छौं, जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुने मन्त्री डा. महतले बताए । उनले भने, ‘जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यवसायिकता, सम्मान र समर्पित हुनुपर्छ । कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नु हुँदैन ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *